कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपाल तराईले ५० रुपैयाँ प्रतिकित्ता नगद लाभांश दिने
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँ नगद लाभांश दिने भएको छ ।
कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकलले ५० रुपैयाँ प्रतिकित्ता नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश दिन लागेको हो । कम्पनीको वार्षिक साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीहरुले नगद लाभांश पाउनेछन् ।
बोटलर्स नेपाल (तराई)ले आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बोटलर्स नेपाल तराईले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५ करोड १२ लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षमा कम्पनीको नाफा ८ करोड ३० लाख रुपैयाँ थियो ।
कोकाकोलासहितको पेय पदार्थ उत्पादन गर्ने बोटलर्स नेपाल (तराई)को चालू आर्थिक वर्षको पहिलो तीन महिनाको सञ्चालन आय २ अर्ब २ करोड रुपैयाँ रहेको छ । यस्तो आय गत वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो ।
बोटलर्स नेपाल (तराई)को प्रति सेयर आम्दानी २५८ रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा भने घटेको हो । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४४० रुपैयाँ थियो । कम्पनीको पीई रेसियो २९ रुपैयाँबाट बढेर ५६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ३५ सय २० रुपैयाँ छ ।