पूर्वसभामुख ढुंगानाको निधन, प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो १:३० बजे उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए ।
२०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बनेका थिए । २०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि उनी शान्ति अभियानमा सक्रिय थिए । तत्कालीन विद्रोही माओवादी र सरकारबीच वार्ताका लागि उनले सहजीकरण पनि गरेका थिए ।
यसअघि २०७४ को निर्वाचनमा भक्तपुर २ बाट संघीय संसदका लागि निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बने पनि एमालेका महेश बस्नेतसँग पराजित भएका थिए ।
आइतबार ढुंगानाको निधनप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उनको योगदान सम्झिरहेको छु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
यसवाहेक अन्य राजनीतिक दल र नेताहरुले पनि ढुंगानाको निधनमा दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।