कांग्रेस उपसभापति धनराज गुरुङसँग सीआईबीले लियो ६ घण्टा बयान, सहकारी ठगीमा अनुसन्धान हुँदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधlसभा सदस्य धनराज गुरुङसँग करिब ६ घण्टा बयान लिएको छ ।
बुधबार करिब ११ बजेपछि सीआईबी पुगेका गुरुङसँग ५ बजेसम्म बयान लिएको हो । मितेरी बचत तथा ऋण सहकार संस्थामा भएको अनियमितताबारे अनुसन्धान गर्ने क्रममा सीआईबीले गुरुङसँग बयान लिएको हो ।
‘हामीले उहासँग बयान लिएका छौं । उहाको बयान तथ्य र प्रमाणसँग मिल्छ कि मिल्दै हेरेर थप अनुसन्धान गर्छौं,’ सीआईबीका एक अधिकारीले भने ।
यो सहकारीका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै सहकारी रजिष्ट्रारको कार्यालयमा गत साउनमा उजुरी गरेका थिए ।
उक्त सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य धनराज गुरुङ जोडिएका छन् । ज्योति धनराजकी श्रीमती हुन् । तर, धनराजले भने आफूले ज्योतिसँग डिभोर्स गरिसकेकाले पूर्वपत्नीको कारोबार बारे आफूलाई जानकारी नहुने बताउँदै आएका छन् ।
ललितपुर महानगरपालिका महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको तत्कालीन महाप्रबन्धक ज्योती गुरुङ संस्थाबाट १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगेर २०७६ माघदेखि फरार रहेकी छन् ।
सहकारीका अध्यक्ष कुम्मराज गुरुङले संस्थाको महाप्रबन्धक ज्योती गुरुङ २०७६ माघदेखि संस्थाको उक्त रकम ठगेर सम्पर्क बाहिर रहेको बताए ।
२०७० सालमा सहकारीमा लेखा प्रबन्धक हुँदै महाप्रबन्धक बनेकी ज्योतिले २०७६ मा विभिन्न १३८ भन्दा बढी बचतकर्ताको १२ करोड ५० लाख रुपैयाँ अपचलन गरेकी हुन् । संस्थाबाट बचतकर्ताको पैसा अपचलन भएपछि समिति नै बनाएर छानबिन गरिएको थियो ।
‘मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रस्तुत रकम हिनामिना छानबिन समिति’ले २०७९ फागुन पहिलो साता बुझाएको प्रतिवेदनमा गुरुङले १२ करोड ५० लाख रुपैयाँ ठगेको उल्लेख छ । समितिले दिएको प्रतिवेदनमा यथाशीघ्र लेखापरीक्षण गराई रकम एकिन गर्न सुझाव दिएको थियो । पछि लेखापरीक्षण गर्दा गुरुङले १४ करोड ८१ लख ६३ हजार ४१८ रुपैयाँ ठगेको तथ्य फेला परेको हो । ज्योती सहकारीको उक्त रकम ठगेर २०७६ माघ १८ देखि फरार बनिन् ।
यो सबै थाहा पाएपछि पूर्वमन्त्री गुरुङले २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरेका थिए । उनले पूर्वपत्नी ज्योतीसँग सम्बन्ध बिच्छेद गरेको विषय संसदमा समेत जानकारी गराएका छन् । उनले यसअघि आफ्नो सम्बन्ध बिच्देको कारण सहकारीका अध्यक्ष कुम्भराज गुरुङ भएको आरोप लगाएका थिए । प्राप्त प्रमाण अनुसार उनले श्रीमतिले अपचलन गरेको करिब १५ करोड रुपैयाँ पचाउन सम्बन्ध बिच्छेद गरेको पाइएको छ ।
गुरुङले यसअघि क्लिकमाण्डुसँगको कुराकानीमा आफूले २०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद भएको र त्यसपछि सम्पर्क नभएको दाबी गरेका थिए । प्राप्त प्रमाणका आधारमा उनको भनाइ गलत साबित भएको छ । उनको भनाइ र प्रमाण हेर्दा श्रीमतिले सहकारीबाट ठगेको पैसा अपचलन गर्न सम्बन्ध बिच्छेद भएको अधिकांशको ठहर छ ।
२०७६ फागुन २९ गते सम्बन्ध बिच्छेद गरेको दाबी गरेका धनराजले मितेरी सहकारीबाट २०७७ माघ २० गते पनि १८ लाख १० हजार रुपैयाँ कर्जा लिएका थिए । कर्जामा हकवालाको नाम ज्योती गुरुङ रहेको छ भने नातामा श्रीमति भन्ने उल्लेख छ ।
यस्तै धनराजले सहकारीबाट २०७७ साल फागुन ३ गते १२ लाख रुपैयाँ कर्जा लिएका थिए । त्यसमा पनि हकवालाको नाम ज्योती गुरुङ र नातामा श्रीमति भन्ने उल्लेख छ ।