नागार्जुनमा तिहारको लागि सयपत्री फूल टिप्ने चटारो (तस्बिरहरु)



काठमाडौं । तिहारको समयमा अत्यधिक माग हुने सयपत्री र गोदावरी फूल टिप्न काठमाडौं इचंगु, कल्लाबारीका किसानहरूलाई चटारो छ । काठमाडौं उपत्यकाको पुष्प केन्द्रको रुपमा पनि परिचित इचंगु ,क्षेत्र अहिले सयपत्री, गोदावरी फूलले ढकमक्क छन् । बिहानैदेखि किसानहरु आफ्नो बारीमा पुगेर फूल टिप्न मै व्यस्त हुने गरेका छन् ।

आजदेखि यमपञ्चक सुरु भएसंगै सयपत्री र गोदावरी फूलको माग पनि बढ्ने गरेको छ । यहाँ उत्पादन भएका फूलहरु काठमाडौं उपत्यकामै खपत हुने गरेका छन् । किसानहरुले फूल टिप्न सुरु गरेसंगै काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न ४६ स्थानमा बिक्रीका लागि स्थान तोकिदिएको छ ।

मेयर बालेन्द्र साहले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोकको घोषणा गर्दै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धनको व्यवस्था गर्न प्रबन्ध मिलाइएको फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।

‘गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो ।

गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ । स्वदेशी फूल व्यापारी किसानहरूले महानगरले तोको स्थानमध्ये आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नुहुनेछन्। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।


क्लिकमान्डु