मन्त्रिपरिषद बैठक बस्दै: डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा छलफल हुने, के आउला निर्णय ?



काठमाडौं । मंगलबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता सम्बन्धमा छलफल गर्न बैठक बोलाएका हुन् । बिहीबार राति प्राधिकरणले बक्यौता नतिरेको भन्दै ३४ वटा उद्योगको लाइन काटेको थियो । अहिले १२ वटा कम्पनीले बक्यौता तिरेपछि लाइन जोडिएको छ । ४९ उद्योगमध्ये ७ वटाले स्टे अर्डर लिएका छन् । २ वटा सरकारी उद्योगको लाइन काटिएको छैन् ।

शनिबार उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटमा उनीहरुले यो समस्या समाधान गरिदिन माग गरेका थिए । ओलीले उद्योगीहरु मर्कामा परेको भन्दै दिर्घकालीन समाधान दिने बताएका थिए ।

नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहेको छ । उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको प्राधिकरणसँग प्रमाण नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । उनीहरुले प्रमाण दिए बक्यौता तिर्ने बताउदै आएका छन्।

प्राधिकरणले असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको थियो । उद्योगीलाई दिएको समय सकिएको भन्दै प्राधिकरणले धेरै बक्यौता रहेका ६ वटा उद्योगको लाइन काटिदिएको थियो ।

उद्योगीहरुले टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएउँदै आएका छन् । उनीहरुले प्रमाण नभएको भन्दै बक्यौता नतिर्ने बताउँदै आएका छन् । विद्युत नियमन आयोगको निर्देशनका आधारमा प्राधिकरणले उद्योगीहरुलाई ३ महिनाको समय दिएको हो ।


क्लिकमान्डु