रवि लामिछानेको तिहार हिरासतमै, ७ दिन थपिए पनि १२ दिन बस्नुपर्ने !



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।

यसअघि आइतबार ६ दिनका लागि अनुसन्धानका लागि अदालतले प्रहरीलाई समय दिएको थियो । अदालतले दिएको समय बुधबार सकिएपछि बिहीबार प्रहरीले लामिछानेलाई कास्की जिल्ला अदालतमा पेस गरेको थियो ।

न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले आज लामिछानेमाथि अनुसन्धानका लागि प्रहरीलाई थप ७ दिनको समय दिएको छ ।

७ दिनको समय थपिएसँगै लामिछानेको तिहार कास्की प्रहरीको हिरासतमै बित्ने भएको हो । आज(८ गते) बाट सातदिन कात्तिक १४ गतेसम्म हुन्छ । १५ गते लामिछानेलाई पुन: अदालतमा पेस गर्नु पर्ने भए पनि सो दिनबाट तिहारको सरकारी बिदा सुरु हुन्छ।

यस्तो अवस्थामा सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ।

अदालत तिहारको टीका सकिएको पर्सीपल्ट अर्थात २० गतेबाट मात्र खुल्ने भएकाले सो दिन लामिछानेलाई प्रहरीले अदालतमा पेस गर्ने छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले आजका मितिले ७ दिनपछि अदालत लैजाने र यदी बिदा परे अदालत खुलेको पहिलो दिन पेस गर्ने जानकारी दिए । ‘आजबाट सात दिन गन्नुस् न ! म्याद थप सकियो र भोलिबाट सरकारी अफिस बन्द छ भने अदालत खुलेको दिन अदालत उपस्थित गराउनु पर्छ,’ शर्माले क्लिकमान्डुसँग भने ।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाउँदै आएको छ ।

विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै लामिछानेलाई दालभात खुवाउन ल्याएको हो भन्दै प्रश्न गरेका थिए ।
सरकारले लामिछानेको अपमान र मानमर्दन गर्न खोजेको उनले आरोप लगाए ।

‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ,’ वाग्लेले भने, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

रविलाई पक्राउ गरि पोखरा ल्याइएपछि रास्वपाका नेता कार्यकर्ता भने आन्दोलित भएका छन् । पोखराको सहिद चोक लगायतका स्थानमा रास्वपाका नेता कार्यकर्ताले आन्दोलन गरिरहेका हुन् ।

बिहीबार आन्दोलनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ । त्यसक्रममा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो ।


क्लिकमान्डु