लुम्बिनी सेरामिक्स्को लेमिनार टायल्सलाई आईएसओ प्रमाणपत्र



काठमाडौं । लेमिनार टायल्स्को उत्पादक कम्पनी, लुम्बिनी सेरामिक्स लिमिटेडले आईएसओ मापदण्डहरुको पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरुको उत्पादनको प्रमाणीकरण हासिल गरेको छ ।

नेपालको सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्राण्ड, लेमिनार उत्पादनमा आएको केहि हप्तामै आईएसओ प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रकै सम्भवत: पहिलो कम्पनी बन्न सफल भएको छ, लुम्बिनी सेरामिक्स ।

लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय ब्यवस्थापन प्रणालीको लागि आईएसओ ९००१:२०१५, वातावरणीय ब्यवस्थापन प्रणालीको लागि आईएसओ १४००१:२०१५ र ब्यवसायिक स्वास्थ्य र सुरक्षा ब्यवस्थापन प्रणालीको लागि आईएसओ ४५००१:२०१८ गरी तीनवटा विधाहरुमा प्रमाणपत्र पाएको हो ।

बलियो र चुस्त ब्यवस्थापन अभ्यास, कर्पोरेट सुशासन र अन्तराष्ट्रियरुपमा प्रचलित उत्पादनको सिद्धान्त एवं मान्यताहरुलाई अंगिकार गरी नेपाललाई विश्वब्यापी उत्पादन अभ्यासको मापदण्डमा उभ्याउने उदेश्यले लुम्बिनी सेरामिक्स् लिमिटेडको स्थापना भएको हो ।

अन्तराष्ट्रिय मान्यता बोकेको आईएसओ प्रमाणीकरणले कम्पनीको गुणस्तरीय ब्यवस्थापन, वातावरणीय ब्यवस्थापन र ब्यवसायिक स्वास्थ्य तथा सुरक्षा ब्यवस्थापन प्रणालीप्रतिको दृष्टिकोण एवं प्रतिबद्धतालाई पुर्नअनुमोदन गरेको कम्पनीले जनाएको छ ।

‘यस उपलब्धि हाम्रो कम्पनीको लागि एक महत्त्वपूर्ण कोशेढुंगा साबित भएको छ, जसले कार्यसंचालनको सम्पूर्ण पक्ष र आयामहरुमा उत्कृष्टताको अभ्यास हासिल गर्ने हाम्रो दह्रिलो प्रतिबद्धलाई समर्थन गरेको छ,’ आईएसओ प्रमाणीकरणबारे बोल्दै कम्पनीका प्रबन्ध निर्देशक आशुतोस खेतानले बताए, ‘गुणस्तरीय बस्तुहरु उत्पादन र वितरणलाई सुनिश्चित गर्नको लागि हामी निरन्तररुपमा गुणस्तर नियन्त्रण र ब्यवस्थापन प्रक्रियाहरुलाई थप मजबुत बनाउँदै लैजाने छौं ।

उनले गुणस्तर र सुरक्षाको सवालमा अन्तराष्ट्रिय मापदण्डहरुलाई पछ्याउनेमात्रै नभइ कम्पनीले सोभन्दा माथिका मापदण्डहरु कायम समेत गर्ने जानकारी दिए ।

बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधीयुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ । करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनहरुमा यि टायलहरु चारवटा आकार (१६ह१६ इञ्च, २ह२ फिट, २ह४ फिट र ८ इञ्चह४ फिट) मा उपलब्ध हुनेछन् ।

करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन् ।


क्लिकमान्डु