विश्वको आर्थिक वृद्धि ३.२ प्रतिशत हुने आईएमएफको अनुमान, आगामी वर्ष तेलको मूल्य १०.४ प्रतिशतले घट्दै



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२४ मा विश्व आर्थिक वृद्धि ३.२ प्रतिशत हुने अनुमान गरेको छ ।

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा कोष र विश्व बैंकको वार्षिक बैठकमा मंगलबार वर्ल्ड इकोनोमिक आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२५ मा पनि विश्वको आर्थिक गतिविधी ३.२ प्रतिशतले बढ्ने अनुमान गरेको हो ।

सन् २०२४ मा विकसित देशको आर्थिक वृद्धि १.८, उदयिमान देशको आर्थिक वृद्धि ४.२ प्रतिशत, एसियान देशको वृद्धिदर ४.५ प्रतिशत र युरोपियन युनियनको वृद्धिदर १.१ प्रतिशत हुने कोषको अनुमान छ ।

सन् २०२४ मा ३.१ प्रतिशतले वृद्धि हुने विश्व व्यापार आगामी वर्ष ३.४ प्रतिशतले बढ्ने कोषले प्रक्षेपण गरेको छ । कोषले सन् २०२४ जौविक इन्धनको मूल्य ०.९ प्रतिशतले बढे पनि सन् २०२५ मा इन्धनको मूल्य १०.४ प्रतिशतले घट्ने अनुमान गरेको छ ।

सन् २०२३ प्रति ब्यारेल ८०.५९ अमेरिकी डलर रहेको इन्धनको मूल्य सन् २०२४ मा ८१.२९ अमेरिकी डलर पुग्ने तथा सन् २०२५ मा उक्त मूल्य घटेर प्रति ब्यारेल ७२.८४ डलर पुग्ने कोषको अनुमान छ । इन्धनको उत्पादनमा भएको वृद्धिले इन्धनको मूल्य घटाउने कोषको अनुमान छ ।

इन्धन मूल्य घट्दा आगामी वर्ष महँगी वृद्धिदर ४.३ प्रतिशतमा सिमित हुने कोषको अनुमान छ । कोषले सन् २०२४ मा महँगी ५.८ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

कोषकाअनुसार महँगी यो वर्ष सम्पन्न देशहरुमा २.६ प्रतिशतले बढ्दा उदयीमान देशहरुमा ७.९ प्रतिशत बढ्ने सम्भावना छ । आगामी वर्ष सन् २०२५ मा समेत महँगी सम्पन्न देशमा २ प्रतिशतले बढ्दा उदयीमानदेशाम ५.९ प्रतिशतले बढ्ने अनुमान छ ।

कोषमा अनुसार सन् २०२४ मा भारतको आर्थिक वृद्धिदर अन्य देशको तुलनामा उच्च छ । सन् २०२३ मा ८.२ प्रतिशतको आर्थिक वृद्धि हाँसिल गरेको भारतको आर्थिक वृद्धिदर सन् २०२४ मा ७ प्रतिशत हुने कोषले अनुमान गरेको छ । कोषका अनुसार सन् २०२५ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने छ । जुन अन्य देशको तुलनामा उच्च हो ।

सन् २०२४ मा सम्पन्न देशहरु मध्ये अमेरिकाको आर्थिक वृद्धि २.८ प्रतिशत, जर्मनीको वृद्धिदर ० प्रतिशत, फ्रान्सको वृद्धिदर १.१ प्रतिशत, बेलायतको वृद्धिदर १.५ प्रतिशत, क्यानडाको वृद्धिदर २.४ प्रतिशत छ ।

यस्तै, उदयीमान देशहरुमा चीनको वृद्धिदर ४.८ प्रतिशत, रसियाको वृद्धिर ३.६ प्रतिशत, ब्राजिलको वृद्धिदर ३ प्रतिशत हुने कोषको अनुमान छ ।


क्लिकमान्डु