प्रतिष्ठानहरुमा एकरुपता हुन जरुरी छः मन्त्री पाण्डे



काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एकरुपता हुन जरुरी रहेको औल्याएका छन् ।

मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्‍यो । जसकारण वार्षिक प्रतिवेदन ढिलो गरी प्राप्त भएको हुनुपर्छ ।’ मन्त्री पाण्डेले कतिपय प्रतिष्ठानहरु नाम मात्रैका रहेको साथै कतै कानुनको अभाव र कतै भवनहरुको समेत अभाव रहेको बताए ।

प्रतिष्ठानहरुलाई एकरुपता हुने गरी व्यवस्थित गर्न जरुरी रहेको उनले बताएका थिए । मन्त्री पाण्डेले कतिपय पालिका, प्रदेश र संघका प्रतिष्ठानहरुबीच तालमेल नभएको बताए । प्रतिष्ठानको कार्यमा एकरुपता ल्याउन केन्द्रका प्रतिष्ठानहरुले चिन्ता र चासो लिनुपर्नेमा उनले जोड दिए । मन्त्री पाण्डेले प्रतिष्ठानलाई सबल र सुदृढ गर्नका लागि मन्त्रालय सधैं तयार रहेको समेत बताएका थिए ।

ललितकला प्रतिष्ठानका कुलपति नारदमणी हातम्छालीले गत आव २०८०/०८१ मा सातवटै प्रदेशमा ललितकला प्रदर्शनीहरु गरिएको, प्रदेश प्रदर्शनीमा एक हजार १० कलाकारहरुले विधागत रुपमा सक्रिय रुपमा भाग लिएको, गण्डकी, सुदूरपश्चिम र मधेश प्रदेशमा प्राज्ञिक भेलाको सम्पन्न, दाङमा सेरामिक्स हबका रुपमा अघि बढाएको र राष्ट्र्रिय ललितकला प्रदर्शनी सफलताका साथ सम्पन्न गरिएको जानकारी दिए ।

साथै ललिकतला प्रष्ठिानमा स्थायी कर्मचारीको अभाव, बजेटको अभाव लगायतका विषयमा समेत प्रतिष्ठानले मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।


क्लिकमान्डु