सहकारी ठगी मुद्दामा जोशीको बयान चलिरहँदा बुटवलमा सहकारी पीडितको प्रदर्शन



काठमाडौं । सुप्रिम सहकारीका पीडितहरुले रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरिरहेका छन् । मंगलबार सहकारी ठगीका आरोपित छवीलाल जोशीको रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान चलिरहँदा पीडितहरुले अदालत बाहिर प्रदर्शन गरेका हुन् ।

सहकारीको बचत रकम फिर्ता पाउनुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै दबाब स्वरुप उनीहरुले मंगलबार प्रदर्शन गरिरहेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी जोशीलाई प्रहरीले असोज ६ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगेको थियो ।

प्रदर्शनकारीले बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीवी राईलाई राजनीतिक संरक्षण गरिएको पनि आरोप लगाएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानमा रहेका जोशीलाई सोमबार नै बुटवल लगिएको थियो । मंगलबार र बुधबार बयान गरेर जोशीलाई बिहीबार फेरि पोखरा लगिने बताइएको छ ।

विभिन्न सहकारीको बचत रकम गोरखा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले जोशीसहित जीबी राई र रवि लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो ।

राई फरार छन् भने रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ । लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले प्रहरीलाई ६ दिनको म्याद दिएको छ ।

तर लामिछानेले भने आफूलाई समितिले क्लिन चिट दिए पनि सरकारले बदनियतपूर्ण रुपमा पक्राउ गरेको जिकिर गर्दै आएका छन् । जवकि पोखरामा पनि रास्वपाका कार्यकर्ताहरु सँगै सहकारी पीडितहरुले पनि आन्दोलन गरिरहेका छन् ।


क्लिकमान्डु