सूर्यदर्शन सहकारी पीडितको रोदन: हामीलाई जस्तो पीडा रवि र छविलाई भए बल्ल थाहा हुन्थ्यो (भिडियो स्टोरी)



सूर्यदर्शन सहकारी पीडित महिला भन्छिन्- श्रीमानको दुबै किड्नी फेल भएको छ। सातामा दुई पटक डाइलसिसका लागि अस्पताल लैजानु पर्छ । प्यारालाइसिसका कारण श्रीमान हिँडडुल गर्न सक्दैनन् । नातेदारसँग ब्याजमा पैसा ल्याएर घर खर्च र उपचार गर्नुपरेको छ । जीवनभर गरेको कमाइ सहकारीमा नडुबेको भए अरुसँग हात फैलाउने अवस्था आउने थिएन ।

पोखरा । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छ्न् ।

सहकारीको रकम अपचलनको आरोपमा शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । लामिछाने गोर्खा मिडियाको १५ प्रतिशतको मालिकसहित प्रबन्ध निर्देशक हुँदा सूर्यदर्शन लगायतका सहकारीको ६५ करोड रुपैयाँ अपचन गरेको आरोप छ ।

सूर्यदर्शन सहकारीका पीडितहरुले लामिछानेविरुद्ध दिएको पुरक उजुरीको आधारमा लामिछानेलाई पक्राउ गरि पोखरा ल्याइएको हो । कास्कीको उक्त सहकारीको १ अर्ब ५० करोड ९० लाख ३५ हजार रुपैयाँ अपचलन भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी जिबी राई भने अझै फरार छन्।

सूर्यदर्शन सहकारी पीडितमध्येको रमजानी निशा पनि एक हुन् । उनको जिवनभरको दुखले कमाई गरेको ३५ लाख रुपैयाँ डुबेको छ । उनका छोराछोरी छैनन् ।

उनको परिवारमा उनी र उनका श्रीमान मात्र छ्न् । श्रीमानको दुबै किड्नी फेल भएको छ। सातामा दुई पटक डाइलसिसका लागि अस्पताल लैजानु पर्छ । प्यारालाइसिसका कारण श्रीमान हिँडडुल गर्न सक्दैनन् । उनलाई एकछिन पनि छोड्न मिल्दैन । सहकारीमा बचत गरेको रकम डुबेको थाहा पाएपछि उनलाई प्यारालाइसिसको समस्या सुरु भएको हो ।

आफैं पनि बिमार उनीसँग उपचार खर्च छैन । अहिले नातेदारसँग ब्याजमा पैसा ल्याएर घर खर्च र उपचार गरिरहेकी छन् ।
आफूले जीवनभर गरेको कमाई नडुबेको भए अरुसँग हात फैलाउने अवस्था नआउने उनी बताउँछिन् ।


युवराज भट्टराई