हरेक वर्ष आउने बाढीलाई बेवास्ता गर्दा धेरै क्षति भयो: चिरिबाबु महर्जन



काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउने पूर्वसूचनापछि पनि लापर्बाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् ।

गत असोज ११ र १२ गते आएको बाढीका कारण नदी किनारमा थुप्रिएको फोहोरमैला सरसफाई सम्बन्धी सोमबार ललितपुरमा आयोजित तयारी बैठकमा बोल्दै महर्जनले यस्तो बताएका हुन् ।

यस क्रममा उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि लापरर्बाही गर्दा बढी क्षति भएको बताएका थिए । उनले असोज ११ र १२ गते आएको अविरल वर्षा र त्यसपछिको बाढीका कारण ललितपुरमा ठूलो जनधनको क्षति भएको बताए ।

पूर्वानुमान अनुसार सूचना प्रवाह गरेको भए पनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएको उनको भनाइ छ । उने भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको बताए ।

मेयर महर्जनले भनेका छन्, ‘थोरबहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेण्टले आउँदैछ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । पहिला पनि भनेको थियो, भन्दै गर्छ नि, भन्ने किसिमको भयो । तर साँच्चै नै आउँदा महाभारत भयो । के गर्ने के गर्ने भयो । त्यसले धेरै वितण्डा मच्चायो ।’

मेयर महर्जनले २०३८ सालको असोज १३ गतेपछि ललितपुरमा हालसम्मकै ठूलो बाढी आएको र बाढीले थुपारेको फोहोर सरसफाईमा वडाहरुले चासो नदिएको भन्दै सरसफाईमा जोड दिन पनि आग्रह गरेका थिए । साथै पहिलेका बाढीबाट पाठ सिक्नुपर्ने उनको सुझाव थियो ।

गत असोज ११ र १२ गतेको बाढीले काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा धेरै क्षति ललितपुर जिल्लामा नै भएको थियो ।


क्लिकमान्डु