नेप्से ५८ अंकले घट्यो, ५ अर्ब ९० करोडको मात्रै कारोबार



काठमाडौं । शेयर बजारको मापक सूचक नेप्से ५७.९९ अंकले घटेको छ । सोमबार नेप्से सूचक २.१४ प्रतिशतले घटेर २६ सय ३९ दशमल ९२ अंकमा झरेको छ ।

बजार घटेको दिन सोमबार ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । बजार घट्दासमेत २३ कम्पनीको कारोबारको सूचक भने सकारात्मक छ भने २२१ कम्पनीको कारोबार सूचक नकारात्मक छ ।

सोमबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा विन नेपाल लुघुवित्त वित्तीय संस्था रहेको छ । यसको शेयर कारोबार ९.९८ प्रतिशतले बढेर २८६६ रुपैयाँ पुगेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको पनि ९.८२ प्रतिशतले कारोबार बढेर ९१४.८० रुपैयाँ सूचीकृत मूल्य निर्धारण भएको छ ।

समग्र बजार घटेको दिन सबैभन्दा बढी गुमाउनेमा न्यादी ग्रुप पावर छ । यसको शेयर मूल्य ८.८१ प्रतिशले घटेको छ । आज गुडविल फाइनान्सको पनि ५.६५ प्रतिशतले शेयर मूल्य घटेको छ । बाँकी गुमाउने कम्पनीहरुको शेयर मूल्य ४.७९ प्रतिशत भन्दा कमले घटेको छ ।

सोमबार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये ३१९ वटाको १ करोड ३८ लाख कित्ता शेयरको ७२ हजार पटक कारोबार भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा फाइनान्स क्षेत्र छन् । यो क्षेत्रको कारोबार ३.३८ प्रतिशतले घटेको छ ।

आज बैंकिङ समूह २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, जलविद्युत २.०४ र जीवन बीमासमूहको शेयर मूल्य २.१५ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु