एफआईए मोटरस्पोर्ट्समा नेपाली खेलाडी पनि सहभागी हुँदै



काठमाडौं । आगामी अक्टोबर २३ देखि २७ सम्म स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआईए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरु पनि सहभागी हुने भएका छन् ।

अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) को आयोजनमा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा यसपटक तीन नेपाली ड्राइभरले सहभागिता जनाउने बताइएको छ ।

नेपाल अटोमोबाइल्स एशोसिएसन नासाका अनुसार विभिन्न विधा समावेश रहेको मोटरस्पोर्ट गेम्समा नेपाली टिमले दुई विधामा भाग लिनेछ । ई-स्पोर्टस जिटी (इस्पोर्ट्स जिटी) विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् । यस्तै कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालममा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रत्येक दुई वर्षमा हुने यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका दर्जनौं देशका खेलाडीहरुसँग नेपाली खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउनुलाई अवसरको रुपमा लिइएको छ ।

पछिल्लो समय लोकप्रिय बन्दैआएको मोटरस्पोटर्सको प्रवर्द्धनमा विश्वस्तरीय ड्राइभरहरु तयार गर्न यस किसिमको अन्तराष्ट्रिय सहभागिता र टिमले थप मदत पुग्ने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु