रविको समर्थनमा पोखरामा प्रदर्शन: सुरक्षाकर्मीभन्दा प्रदर्शनकारी थोरै
काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि आइतबार बिहानैदेखि रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् ।
आइतबार लामिछानेलाई कास्की जिल्ला प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरिरहँदा उनीहरुको प्रदर्शन चलिरहेको छ ।
यद्यपि रास्वपाका समर्थक तथा कार्यकर्ताहरुले निशेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै सुरक्षाकर्मीले हटाउन खोजेको छ । यसअघि रास्वपाले देशभरबाट आफ्ना समर्थक र कार्यकर्तालाई पोखरामा प्रदर्शनका लागि आह्वान गरेको थियो । जहाँ सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ । तर आइतबारको प्रदर्शन हेर्दा उनीहरुको संख्या सुरक्षाकर्मीहरुको भन्दा थोरै देखिएको छ ।
प्रदर्शनस्थलमा रास्वपाका कार्यकर्ता तथा समर्थकहरु केही सयको संख्यामा मात्रै देखिएका छन् भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीले आइतबार नै लामिछानेलाई अदालतमा उपस्थित गराउँदैछ । यससँगै सरकारले अदालत र जिल्ला प्रहरी कार्यालय आसपास क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
साथै प्रदर्शनकारीलाई निषेधित क्षेत्रबाट हटाउन खोजिरहेको छ । प्रहरीले लामिछानेलाई अदालत लैजाने भएपछि उनको समर्थनमा पोखरामा प्रदर्शन भइरहेको हो ।
सरकारले प्रदर्शनको क्रममा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको संख्या बढाइरहेको छ । प्रहरीले प्रदर्शनकारीलाई अहिले निषेधित क्षेत्रबाट हट्न आग्रह गरिरहेको छ । प्रहरीको आग्रहका बावजुद प्रदर्शनकारी र सुरक्षाकर्मीबीच घम्साघम्सी पनि भइरहेको छ ।
प्रदर्शनमा रास्वपका शीर्ष नेताहरुसमेत सहभागी भएका छन् । रास्वपाले यसअघि नै देशभरबाट कार्यकर्तालाई उपस्थित हुन अपिल गरेको थियो । साथै सबै शीर्ष नेताहरु पोखरामा उपस्थित भएका छन् । आइतबार मध्यान्हको अवस्था हेर्दा २ सयजतिको संख्यामा प्रदर्शनकारीहरुले सहिदचोकमा नाराबाजी गरिरहेका छन् भने सुरक्षाकर्मीहरु त्यसको दोब्बरभन्दा धेरैको संख्यामा उपस्थित छन् ।
पोखराको सहिदचोकमा रवि लामिछानेको समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । शनिबार भने रास्वपाका शीर्ष नेताहरुले भेलालाई सम्बोधन गरेका थिए ।