पोखरामा तोकियो निषेधित क्षेत्र, रास्वपाका प्रदर्शनकारीलाई हटाउँदै प्रहरी
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा आइतबार पेस गर्नुअघि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रलाई निषेधित घोषणा गरेको छ ।
सहकारी ठगी र संगठित अपराधमा लामिछानेलाई पक्राउ परेर पोखरा ल्याइएको छ । उनको पक्राउ विरोधमा रास्वपाले पोखराको सहिद चोकमा प्रदर्शन गरिरहेको छ ।
त्यस्तै सूर्यदर्शन सहकारी पीडितहरूले पनि प्रदर्शन थालेका छन् ।
दुई पक्षबीच झडप हुन सक्ने भएकोले रोक्न प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्रको आदेश जारी गरेका हुन् ।
पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
शहीदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी गरेको हो ।
त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ ।
तर, रास्वपाका नेता कार्यकर्ताहरु प्रदर्शन स्थलबाट पछि हट्न मानिरहेका छैनन् ।