२ महिनामा २० लाख प्याकेट तास आयात, गत वर्षको भन्दा घट्यो



काठमाडौं । दशैं तिहार मनाउने क्रममा तास र जुवा पनि खेल्ने प्रचलन छ । यस्ता पर्वमा मनोरञ्जनका लागि तास खेल्ने गर्छन् ।

नेपालमा कानूनीरुपमा तास खेल्न बर्जित छ । जुवा तास खेलिरहेको समयमा प्रहरीले देखे वा सूचना पाए पक्राउ गरेर कानून अनुसार कारबाही हुने गरेको छ । तै पनि नेपालमा तास आयात भने रोकिएको छैन ।

हरेक वर्ष करोडौ रुपैयाँको तास आयात हुने गरेको छ । तास आयात गर्न, खुलेआम बिक्री वितरण गर्न दिने सरकारले खेल्नेलाई भने पक्राउ गरेर नगद तथा जेल सजाय समेत दिने गरेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा ६ करोड ११ लाख ६४ हजार रुपैयाँको तास आयात भएको छ ।

साउन र भदौमा नेपालमा २० लाख ७ हजार ८९२ प्याकेट तास आयात भएको छ । दुई महिनामा तास आयात हुँदा राज्यले ३ करोड ५२ लाख ८५ हजार रुपैयाँ राजस्व पाएको छ ।

नेपालमा सबैभन्दा बढी तास चीनबाट आयात हुने गरेको छ । विभागका अनुसार भदौ मसान्तसम्म नेपालमा चीनबाट ५ करोड २१ लाख ३ हजार रुपैयाँको १८ लाख ४५ हजार ७६ प्याकेट तास आयात गरेको छ ।

जसबाट राज्यले ३ करोड २० लाख ९१ हजार रुपैयाँ राजस्व पाएको छ ।

विभागका अनुसार भारतबाट नेपालमा दुई महिनामा ९० लाख ५७ हजार रुपैयाँको १ लाख ६२ हजार ८८ प्याकेट तास आयात भएको छ । भारतबाट आयात भएको तासबाट राज्यले ३१ लाख ७५ हजार राजस्व पाएको छ ।

नेपालमा बेलायतबाट ३ हजार ४ प्याकेट तास आयात भएको छ । राज्यले २ हजार कर लिएको छ । अमेरिकाबाट पनि नेपालमा ७२० प्याकेट तास आयात भएको छ ।

नेपालमा गत वर्षको तुलनामा यो वर्ष तास आयात घटेको छ । भन्सार विभागको तथ्याङ्कले पनि यस्तो देखाएको छ ।

गत वर्षको दुई महिनामा नेपालमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको २२ लाख ९७ हजार ६२६ प्याकेट तास आयात भएको थियो । उक्त अवधिमा राज्यले ४ करोड ४ लाख ३३ हजार राजस्व पाएको थियो ।

नेपालमा बढी तास चीन र भारतबाट आयात हुने गरेको छ ।


क्लिकमान्डु