गाउँमा सारी र लाली लगाएर मलाई केटी बनाइदिन्थे, देउसीमा पनि केटी बनाएर नचाउथे: मनोज ज्ञवाली
काठमाडौं । दशैं, तिहार भन्नासाथ राम्रो लगाउने, मिठो मसिनो खाने, वर्षौदेखि नभेटिएका आफन्त परिवारसँग भेट्ने, सुख, दुःख साटासाट गर्ने पर्वको रुपमा लिइन्छ ।
तर, दशैं, तिहार यतिमा मात्रै सीमित हुँदैन । समय फेरियो, परिवेश फेरियो, व्यस्तता बढ्यो । सधैं विगत सम्झने फुर्सद अहिले थोरै मानिसलाई हुन्छ । तर, दशैं तिहार भनेको यस्तो पर्व हो, हरेकलाई विगत सम्झाएर निकै रोमान्चित बनाउँछ ।
चाटर्ड एकाउन्टेन्टसमेत रहेका नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवाली सानो बेलामा मनाएको चाडपर्व सम्झेर निकै रोमान्चित हुन्छन् ।
बैंकिङ क्षेत्रका साथै युवा पुस्तामा निकै परिचित पात्र ज्ञवाली दशैं, तिहार भन्नासाथ सुरुमै गाँउ, बाल्यकाल, गाँउको खानपान, मामा घरको यात्रा, मामाघर जाँदा जुकाले टोकेको, देउसी भैलो, तिहारमा नाचगान गर्दा आफूलाई केटी पात्रको रुपमा प्रस्तुत गरेको, दशैंमा पाउने आशीर्वादसँगै पाइने दक्षिणालाई कहिल्यै भुल्दैनन् ।
बाल्यकालमा दशैं, तिहार जस्ता चाडपर्व मनाउन समय प्रशस्त भए पनि पैसा, साधन स्रोतका अभाव हुने गरेको झलझली सम्झने ज्ञवालीलाई अहिले समय व्यवस्थापन निकै चूनौतीपूर्ण बन्छ ।
यो वर्ष ज्ञवाली दशैं, गाँउ वा शहरमा हैन, देशभन्दा बाहिर अर्थात् यूरोपमा दशैं मनाउने तरखरमा छन् । विशेष कार्यक्रमको शिलशिलामा उनी यूरोपमा हुनेछन् र दशैं पनि उतै मनाउने तयारी छ ।
चाडपर्वको समयमा खानपानले मान्छेलाई धेरै नै लोभ्याउने गर्छ । यूरोपमा हुने भएका कारण यो वर्षको दशैं नेपाली खाना सम्झँदै विदेशी खानामा रमाउनु पर्ने उनको बाध्यता छ ।
खानामा ज्ञवालीलाई यो वा त्यो भन्नेमा खासै चिन्ता छैन । मिठाई अलिक बढी मन पर्ने ज्ञवाली स्वास्थ्य र उमेरका कारण त्यसको मात्रा घटाउन थालेको बताउँछन् । सानो उमेरमा खाने खाना, अध्ययनको शिलशिलामा काठमाडौं हुँदै सीए अध्ययनको शिलशिलामा भारतमा खाइने खाना र अहिले खाने खानामा आकाश पातालको अन्तर भइसकेको उनको बुझाइ छ ।
सानो बेला आमाले पकाएको गहुँको बाक्लो रोटी आगोमा सेकाएर दुधसँग खाएको स्वाद अहिले पनि ज्ञवालीको जिब्रोको टुप्पैमा छ ।
सानो बेला चिनी भेटेपछि गोजीमा हालेर खाँदै हिँडेको झलझली सम्झने ज्ञवालीलाई अहिले चिनी कम चिया उत्तम लाग्छ । अध्ययनको शिलशिलामा काठमाडौंमा आएपछि सँगै बस्ने साथीसँग दालभात बनाएर खाएको याद ताजै रहेको बताउने ज्ञवाली सीए पढ्न भारतमा गएको समयमा एउटा कुकरमा चार सिठ्ठी लगाएर दाल,भात र तरकारी पकाएका दिन बिर्सन सक्दैनन् ।
भिन्डीमा समेत रस राखेर तरकारी बनाएको स्मरण गर्ने ज्ञवालीलाई भाडा अरुले माझेको धेरै चित्त बुझ्दैन थियो ।
मासुका परिकारहरु मिठो बनाउन दख्खल राख्ने ज्ञवाली अण्डाकरी पनि निकै स्वादिलो बनाउने सुनाउँछन् ।
तर, उनको दैनिकी फेरिएको छ । ज्ञवाली विगत २०, २२ वर्षदेखि भान्सा छिरेका छैनन् । श्रीमतीले बनाएको अण्डाकरी, चिकेनकरी अझ बढी मन पराउने ज्ञवालीले स्वास्थ्यले साथ दिने खालका खाने कुरा केहीमा पनि गुनासो नगर्ने बताउँछन् ।
खानासँगै ज्ञवाली नाचगानमा पनि बच्चैदेखि पछि नपर्ने ज्ञवालीलाई त्यो बेला गाँउमा खेलेको देउसी, भैलोको खुब याद आउँछ ।
केटीको पहिरनमा नाचेको, रातभर देउसी खेलेको, देउसी खेल्न जाँदा पाउने सेल, चामल, ५, १० रुपैयाँ दक्षिणाको याद ताजै छ । लामो समयदेखि देउसी नखेलेको बनाउने ज्ञवालीको घरमा अहिले देउसी खेल्न आउनेको कमी हुँदैन ।
दशैंमा १०, ११ हजार रुपैयाँसम्म दक्षिण पाएको अनुभव साट्ने ज्ञवाली भाञ्जा–भाञ्जीलाई २, ३ हजार दक्षिणा दिने, तिहारमा दिदी, बहिनीलाई भने अलिक धेरै नै दक्षिणा दिने बताउँछन् ।
प्रस्तुत छ, उनै ज्ञवालीसँग दशैं, तिहार जस्ता चाडपर्व र चाडपर्वको समयमा खाइने खाना, गाँउ घरमा मनाएको चाडपर्व, गाउँले परिवेशका यादलाई समेटेर क्लिकमान्डुका लागि सोभित थपलियाले गरेको कुराकानीः