दशैं लागेसँगै बजारमा किनमेल गर्नेको चहलपहल: भन्छन्- महँगी बढ्यो



काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ ।

काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको दाबी गरिरहेका छन् ।

उनीहरु बजारलाई दशैं नलागेको बताइरहेका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको छ ।

विगतको भन्दा महँगो

उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेका छन् ।

असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका मुख्य बजारमा दशैंका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोचेभन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् ।

व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै सामग्रीहरु महँगो भएको स्वीकार गरेका छन् ।

काठमाडौंको रानीवनबाट असनमा किनमेल गर्न आएक पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए ।

महिला,पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको उनको भनाइ छ ।

सरकारले सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उनको भनाइ छ ।

पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको उनको भनाइ छ ।

उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताए ।

मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको उनी बताउँछन् ।

सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै उनले बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको बताए ।

अर्को काठमाडौंको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाइ पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भए पनि महँगो पाइएको बताए ।

दशैं नेपालीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो बनाउनुपर्ने बताए ।

त्यस्तै काठमाडौंको बसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृति सेडार्इंले पनि सामान्य समयको भन्दा दशैंमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन् ।

काठमाडौंका अन्य बजारभन्दा असनमा सस्तो रहेको बताए ।

उनले मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दशैं कुर्नुपर्ने अवस्था नभएको बताए ।

त्यस्तै,सुमित्रा सेडार्इंले दशैं लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताए ।

भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिएकी छन् । उनले विगतकोभन्दा अहिले सस्तोमा समान पाएको बताइन् ।

एक हजार रुपैयाँभन्दा तलको मूल्यमा कुनै पनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताइन् ।

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैं महँगो हुने भएको प्रतिक्रिया दिए । बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ ।


क्लिकमान्डु