भाटभटेनीका अध्यक्ष गुरुङले बाढी पहिरो पीडितलाई दिए १ करोड ११ लाख ११ हजार



काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोग गरेका छन् ।

गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणबाट फर्किए लगत्तै गुरुङले बालुवाटार पुगेर उक्त रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।

‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनुभयो,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’

बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर २१७ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ७८ जना बढी बेपत्ता छन् ।

अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व भएको भाटभटेनीका सीओओ पानु पौडेलको भनाइ छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका हुन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।

रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् ।

उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरू सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए ।


क्लिकमान्डु