कोशी ब्यारेजमा रेड अलर्ट: सवारी साधान र सर्वसाधरणलाई आउजाउमा रोक



कोशी प्रदेशमा बाढी पहिरोबाट ७ को मृत्यु १० बेपत्ता

विराटनगर । सप्तरी र सुनसरी प्रशासनले कोशी ब्यारेजमा सवारी साधन र सर्वसाधरणलाई आउजाउ गर्न शनिबार अपरान्हदेखि अस्थायी रुपमा रोक लगाएको छ ।

कोशी नदीमा पानीको बहाव अत्याधिक बढेसँगै बहाव थप बढने आकलन गरेर सुरक्षाका नाममा ब्यारेजबाट आउजाउ गर्न सवारी साधन र सर्वसाधरणलाई रोक लगाइएको स्थलगत निरीक्षणमा पुगेको कोशी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले क्लिकमान्डुलाई जानकारी दिए ।

कोशी नदीमा पानीको बहाव हवात्तै बढेपछि ब्यारेज नियन्त्रण कक्षले शनिबार अपरान्ह रेड अलर्ट जारी गरेपछि स्थानीय प्रशासनले ब्यारेजबाट सबै खाले आउजाउमा रोक लगाएको दाहालले बताए ।

पछिल्लो मापन अनुसार कोशी नदीमा प्रति सेकेण्ड ५ लाख २१ हजार क्यूसेक पानीको बहाव छ । शनिबार बिहान ब्यारेका सबै ५६ ढोका खुला गरिएको थियो । सन १९६२ मा कोशी ब्यारेजको संरचना निर्माण गरिदा ब्यारेजले प्रति सेकेण्ड ९ लाख ५० हजार क्यूसेक पानीको बहाव थेग्ने बताइएको थियो । तर कोशी ब्यारेजको आयु सकिनुका साथै ब्यारेजको उत्तर र दक्षिणमा बालुवा थुप्रिँदा ब्यारेजको क्षमतामा थप ह्रास भएको स्थानीय प्रशासकहरुको विश्लेषण छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुखहरुले ब्यारेजको स्थलगत निरीक्षण गरेर ब्यारेजबाट अस्थायी रुपमा आउजाउमा रोक लगाएका हुन् ।

कोशीमा बाढी पहिरोमा परेर ७ को मृत्यु १० बेपत्ता

यसैबीच तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर शनिबार अपरान्ह सम्ममा कोशी प्रदेश ८ जनाले ज्यान गुमाएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ज्यान गुमाउनेमा पाँथरमा ५, धनकुटामा २ र इलाममा एक जना छन् ।

पहिरोले पुरिएर मृत्यु हुनेमा पाँथर फिदिम ४ मा बसोवास गर्दै आएकी २४ वर्षीया सपना शेर्पा, ५ वर्षीया डोम्मा शेर्पा, फिदिम ८ का ८२ वर्षीया पश्चिमा शेपा, फिदिम २ की ३५ वर्षीया रञ्जना राई र फिदिम १ का ५० वर्षीय गोपी विक रहेको प्रहरीले जनाएको छ । फिदिममा पहिरोमा परेर कमला राई, कृष्ण दास, कमला दास, धनकुमारी तुम्बापो, राजेश तम्बापो र सरस्वती तुम्बापो बेपत्ता छन् ।

त्यसैगरी धनकुटा नगरपालिका ५ पाख्रिवासमा गएराति पहिरोले घर पुरिँदा रामकुमारी तामाङ र उनकी छोरी आशा तामाङको मुत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यहाँ मीन माया तामाङ घाइते भएकी छन् ।

इलाम माइ नगरपालिका ८ का ६८ वर्षीय मैतराज लिम्वू सेते खोला तर्ने क्रममा बगरेर मृत्यु भएको छ । प्रहरीका अनुसार बाढी परिहोमा पाँथचरमा ६, झापामा ३ र मोरङमा १ जना बेपत्ता रहेको प्रहरीले बताएको छ ।


विनोद भण्डारी