बैंकक पुगेर महासंघ अध्यक्ष ढकालले भने- नेपालको पर्यटन क्षेत्रमा संभावना छ, लगानी गर्नुस्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता औंल्याएका छन् ।

सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरु रहेको जानकारी गराए । उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको बताए ।

ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरु रहेको कुरामा पनि जोड दिए । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको कुरा जानकारी गराए ।

नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरुका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनले औंल्याए ।

ढकालले नेपालले विदेशी लगानीकर्ताहरूका लागि प्रदान गर्ने रणनीतिक फाइदाहरूलाई पनि औंल्याए । उनले नेपालले हालसालै लगानी सम्बन्धी आठ कानुनहरू संशोधन गरेको र विदेशी लगानीलाई सहजीकरण गर्न द्विपक्षीय लगानी सम्झौताको संरचना पारित गरेको जानकारी दिए ।

ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरे । भारतले आगामी दस वर्षमा नेपालबाट १०,००० मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा देखिएका नयाँ अवसरहरू पनि उनले उल्लेख गरे ।


क्लिकमान्डु