भारतमा नेपाली चियाको माग ह्वात्तै बढयो, ५२ प्रतिशतले निर्यातमा वृद्धि



विराटनगर । प्रतिकुल मौसम एवं खडेरीले भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निकासी बढेको छ ।

गत वर्षको तुलनामा भारतमा यसवर्ष १० करोड केजी भन्दा बढीले चियाको उत्पादन घटेपछि नेपाली चियाको निकासी गत वर्षको तुलनामा ५० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

चालु वर्षको दुई महिनामा पूर्वी नेपालको मेची भन्सार नाकाबाट चियाको निर्यात ५२ प्रतिशतले बढेको तथ्यांक छ।

काँकरभिट्टा नाकाबाट साउन र भदौमा १ अर्ब १३ करोड ३४ लाख मूल्यको ४ हजार ४ सय १२ मेट्रिक टन चिया निर्यात भएको छ ।

भन्सार कार्यालयका अनुसार यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो ।

गतवर्ष यही अवधिमा २ हजार ९ सय २ टन चिया निकासी भएको थियो । नेपालबाट गतवर्ष भरीमा ३ अर्ब १६ करोड ३८ लाख मूल्य बराबरको १३ हजार ४ सय ३३ टन चिया निकासी भएको भन्सार विभागको तथ्यांक छ ।

प्रतिकुल मौसम एवं खडेरीका कारण दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले क्लिकमान्डुलाई बताए ।

खडेरीका कारण भारतमा यसपाली १० करोड केजी भन्दा बढीले चिया उत्पादन घटेको छ । त्यसकै कारण नेपाली चियाको माग भारतमा बढदो छ ।

‘माग अत्याधिक छ तर खडेरीका कारण नेपालमै पनि उत्पादन घट्दा भारतीय मागलाई थेग्न गाह्रो भएको छ,’ पराजुलीले भने ।

भारतमा गतवर्ष एक अर्ब ४० करोड केजी चिया उत्पादन भएको थियो । खडेरीका कारण यसपाली १० करोड केजी भन्दा बढीले उत्पादन घटेको छ । त्यसैले नेपाली चियाको माग हवात्तै बढेको पराजुलीको बुझाइ छ ।

गतवर्ष नेपालमा २ करोड २५ लाख केजी चिया उत्पादन भएको थियो । पराजुलीले भने,’ खडेरीले नेपालमा पनि यसपाली ५० लाख केजी चिया उत्पादन घटेको छ ।’

उनका अनुसार यसवर्ष नेपालमा १ करोड ७५ लाख केजीमात्र चिया उत्पादन भएको छ ।

उत्पादनमा ५० लाख केजी घटेपनि मूल्य बढेर भारतीय बजारमा माग हवात्तै बढदा किसानलाई राहत पुगेको पराजुली भनाइ छ।

नेपालमा उत्पादन भएको चिया मध्ये शून्य दशमलव ५० प्रतिशतमात्र स्वदेशमा खपत हुन्छ । बाँकी सबै निकासी नै हुने हो । पराजुलीले भने,’यसपाली उत्पादन घटे पनि मूल्य बढेर भारत निकासी बढ्दा किसानलाई राहत नै पुगेका छ ।’

गतवर्ष यसबेला नेपाली चियाको मूल्य प्रतिकेजी ९० रुपैयाँदेखि सय रुपैयाँ हुँदा यसपाली प्रतिकेजी एकसय ८० रुपैयाँ सम्म पुगेको छ ।

नेपालमा उत्पादित चिया मुख्य रुपमा भारत निर्यात हुने गरेको छ । त्यसबाहेक अमेरिका, जापान, चीन लगायत मुलुकमा चिया र कफी निर्यात हुँदै आएको छ ।

इलामबाट सुरु भएको चिया खेती विस्तार हुँदै पाँचथर, झापा, ताप्लेजुङ, धनकुटा भोजपुर, तेह्रथुम सहित पश्चिमका केही जिल्लासम्म पुगेर २७ हजार पाँचसय हेक्टरका विस्तार भएको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

नेपालमा उत्पादित चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भइरहेको छ । नेपालमा उत्पादित चियामध्ये निकै थोरै परिमाण मात्र आन्तरिक बजारमा खपत हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ ।

उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको छ । बोर्डका अनुसार नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । यसैगरी एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।

गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको खेतीको रुपमा विकास गर्न सकिने इलामको फिक्कलका चिया उद्यमी दिनेश अग्रवाल बताउँछन् ।

गुणस्तर वृद्धि गर्न सकिए नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने उनको भनाइ छ । उनका अनुसार गुणस्तर बढाउन सकिए भारतको तुलनामा तेस्रो मुलुकमा बढी मूल्यमा निकासी गर्न सकिन्छ ।

कोशी प्रदेश चियाससहित व्यावसायिक कृषिको लागि नेपालकै मुख्य कृषि उत्पादन क्षेत्र हो । नेपालबाट निर्यात हुने अलैँची, चिया, अदुवा, अम्लिसो, तरकारीहरु, दुध, मासु, छुर्पी र जडिबुटीहरुको मुख्य उत्पादन यही प्रदेशमा हुने गरेको छ ।

नेपालबाट विदेश निर्यात हुने अलैँची ९० प्रतिशत, चिया ९९ र अदुवा ३३ प्रतिशतभन्दा ठूलो हिस्सामा कोशी प्रदेशको योगदान छ । देशको खाद्यान्न आपूर्तिको मुख्य क्षेत्र पनि यही प्रदेश हो । यो प्रदेशले आफूलाई पुर्याएर बढी भएको तीन लाख मेट्रिकटन भन्दा बढी खाद्यान्न देशको अन्न भण्डारमा योगदान दिँदै आएको छ ।


विनोद भण्डारी