स्वर्णिमसहित रास्वपाका १४ नेता १० दिने भ्रमणका लागि चीनमा, भोलि नै फर्किएलान् ?



काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न सक्ने भन्दै कार्यकर्ता पार्टी कार्यालयमा आइतबार राति भेला भइरहँदा केही शीर्ष नेता भने चीन भ्रमणमा रहेका छन् ।

उपसभापति स्वर्णिम वाग्ले नेतृत्वमा रहेको १४ सदस्यीय टोली शनिबार मध्यराति चीन उडेको थियो । मध्यराति पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मा वाग्लेसहितको टोली ग्वाङ्चौ गएको हो ।

चीन जानेहरूमा पार्टी प्रवक्ता मनिष झा, पार्टीकी कोषाध्यक्ष लीमा अधिकारी, सांसद शिशिर, खनाल, गणेश पराजुली, अशीम शाह, शिव नेपाली, डा. तोसिमा कार्की, केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन् ।

पार्टीका शीर्ष नेता चीन भ्रमणमा जानासाथ विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि फर्किने भएको छ ।

चीन भ्रमणमा रहको टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए । तर उनीहरुलाई फर्कन पार्टीले निर्देशन भने नदिएको उनको भनाइ छ ।

सहकारी ठगीबारे छानबिनका लागि गठन भएको संसदीय समितिले रवि लामिछानेसहितलाई कारबाहीको लागि सिफारिस गरेको छ । र प्रतिवेदन कार्यान्वयका लागि सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ । गोरखा मिडिया नेटवर्कमा रविका साझेदार छविलाल जोशीलाई आज पक्राउ गरेसँगै लामिछाने पनि पक्राउ पर्ने आकलन गर्दै नेता कार्यकर्ता पार्टी कार्यालयमा भेला भएका हुन् ।


क्लिकमान्डु