सार्वजनिक यातायातको अग्रिम बुकिङको खुल्ने टुंगो अझै लागेन, मंगलबार निर्णय हुने



काठमाडौं । सरकार र यातायात व्यवसायीबीच विवाद हुँदा दशैंका लागि सार्वजनिक यातायातको बुकिङ अझै खुल्ने निश्चित भएको छैन् ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको संयोजकत्वमा अग्रिम बुकिङको निर्णय गर्न बैठक बसेको थियो । उक्त बैठक बिनानिष्कर्ष टुंगिएपछि अग्रिम बुकिङ अनिश्चित भएको हो ।

बैठकमा यातायात व्यवसायी, सडक विभाग र मन्त्रालयका प्रतिनिधिहरु थिए । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौंलाले मंगलबार यातायात व्यवस्था विभागमा बैठक बसेर टिकटको टुंगो लाग्ने बताए । ‘हामीले कुनै निर्णय गरेका छैनौं । मंगलबार विभागमा बैठक बस्दैछ । त्यसपछि निर्णय हुन्छ,’ उनले भने ।

 दशैं, तिहार तथा छठपर्वलाई लक्षित गरि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने गर्छ । शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलले यातायात व्यवस्था विभाग तथा यातायात व्यवसायीहरु बीच छिट्टै बुकिङ खोल्नुपर्ने समझदारी भने भएको छ।  तर बुकिङ खोल्ने दिन भने एकिन हुन सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अग्रसरतामा भएको छलफलमा सडक विभाग अन्तर्गतका सवै सडकहरु घटस्थापना अघि सडक मर्मतसंभार गरि यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम लगायतका प्रतिनिधिहरु सहभागी छलफलले विपी राजमार्गमा सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका सवारी साधन मात्र चलाउन एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागु गर्न गृह मन्त्रालय/ नेपाल प्रहरीमा आग्रह गर्ने समेत निर्णय भएको छ । यस विषयमा यातायात व्यवस्था विभागबाट अनुगमन गरि मन्त्रालयमा रिपार्टिङ गर्नु पर्ने छ ।

यस्तै यात्रुहरुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरि शिघ्र अग्रिम टिकट बुकिङ् खुल्ला गर्ने, यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरि सम्वन्धित वसपार्कबाट गन्तव्य स्थल तर्फ जाने गरि व्यवस्थित गर्ने पनि निर्णय भएको छ ।

इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी घटबढ हुँदा गरिने गरिएको वैज्ञानिक भाडा समायोजन एक वर्ष देखि तथा इन्धनको मूल्य बाहेकको अन्य कारणले गर्नु पर्ने समायोजन विगत तीन वर्षदेखि नभएको सन्दर्भमा आवश्यक तयारी गरि छठ पर्व पछिको हप्तामा उक्त भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने भनिएको छ ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयहरुको संवोधन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने एवम् अन्य निकायसँग सम्वन्धित सुझावहरु कार्यान्वयनका लागि सम्वन्धित सुझावहरु कायान्वयनका लागि सम्वन्धित निकायहरुमा अनुरोध गर्ने छलफलले निर्णय गरेको छ ।

यातायात व्यवस्थापनसँग सम्वन्धि अदालतबाट भएका आदेश र फैसला कार्यान्वयनका लागि एक महिना भित्र कार्ययोजना तयार गरि पेश गर्न सोहि छलफलले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । व्यवसायीहरुले राइड सेयरिङ नियमनको विषय समेत उठाएको थिए । उनीहरुले लामो समयदेखि राइड सेयरिङ बन्द गर्न माग गर्दै आएका छन् ।

दशैं लगायतका पर्वमा काठमाडौं लाखौं मानिसहरु बाहिरिन्छन् । लामो दूरीमा यात्रा गर्नेहरुका लागि व्यवसायीहरुले अग्रिम बुकिङ खोल्ने गर्छन् । अघिल्ला वर्षहरु एक महिना पहिलेदेखि नै बुकिङ खोल्ने विषयमा छलफल हुने गरेको थियो ।

यो वर्ष दशैं सुरु हुन ७ हप्ता पनि बाँकी नहुँदा समेत अग्रिक टिकटको बुकिङ टुंगो लागेको छैन । यातायात व्यवसायीहरुले सडकको अवस्थाका कारण तोकिएको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था नरहेको गुनासो गरेका छन् । उनीहरुका अनुसार यात्रुहरुले समय पुर्‍याउन नसकेको भन्दै गाली गरे पनि सडकका कारण यस्तो अवस्था आएको हो ।

देशभरी सबै राजमार्ग निर्माणाधीन अवस्थामा रहेका कारण यस्तो अवस्था आएको हो ।

यातायात व्यवसायीहरुले दशैंको टिकट अनलाइनमा किन्न आग्रह गरेका छन् । उनीहरुले लाइनमा बसेर दु:ख नगर्न आग्रह गरेका हुन् ।

तर यातायात व्यवसायीहरुले अन्तिम समय मात्रै सरकारसँग बार्गेनिङ गरेर टिकट खोल्ने निर्णय गर्छन् । जसका कारण सर्वसाधरण रातभर लाइन बसेर टिकट काट्न बाध्य हुने गरेका छन् । हरेक वर्ष बसपार्कहरुमा रातभर लाइन लाग्ने गर्छ ।


दिनेश खड्का