नेपाली ब्राण्ड सोल्टी होटल संसारभर फैलने, सरकारले दियो स्वीकृति



काठमाडौं । नेपाली होटल व्यवस्थापन समूह ‘सोल्टी होटल काठमाडौं’ले अन्तर्राष्ट्रिय होटल व्यवस्थापनको स्वीकृति पाएको छ ।

औधोगिक प्रवर्द्धन बोर्डले सोल्टीलाई नेपालबाट अन्तर्राष्ट्रिय स्तरका होटलको व्यवस्थापन गर्न जाने गरी स्वीकृति दिएको हो । यो स्वीकृतिसँगै अब नेपाली चेन होटल अन्तर्राष्ट्रिय स्तरमा होटल व्यवस्थापन गर्न जाने भएको छ ।

नेपालमा लामो समयसम्म विदेशी व्यवस्थापनमा चलेको सोल्टी आफैं होटल चेन बनाएर जान थालेपछि यसले विदेशीमा समेत सेवा विस्तार गर्न खोजेको हो ।

‘उद्योग विभागले विदेशी होटलको व्यवस्थापन गर्ने स्वीकृति दिएको छ,’ सोल्टी होटलका उपाध्यक्ष सूदर्शन चापागाँईंले क्लिकमान्डुसँग भने, ‘यो स्वीकृतिसँगै अब नेपालबाट अन्तर्राष्ट्रिय क्षेत्रमा होटलको व्यस्थापन गर्न अनुमति लिने पहिलो नेपाली चेन होटल हुने भएका छौं ।’

विदेशमा होटल खोज्दै नेपालबाट बाहिर जाने अनुमति पनि आफूहरुले माग गरिरहेको चापागाँईंले बताए । उद्योग विभागको अनुमतिसँगै अब सोल्टी नेपालबाहिर जाने पहिलो स्वदेशी चेन होटल हुने गरी काम गर्ने तयारीमा रहेको उनले बताए ।

सोल्टीले भारतसहित युरोपेली देशहरुमा होटल तय गर्दै गरेकोले छिट्टै त्यसको नामसमेत सार्वजनिक गर्ने चापागाँईंले बताए ।

‘सोल्टीले विदेशका विभिन्न स्तरका होटल हेरिरहेकोले कुन स्तरका र कुन देशको हो भन्ने विषय केही समयपछि मात्र सार्वजनिक हुन्छ,’ उनले भने ।

यसअघि नै सोल्टीले भारतसहितको विदेशी मुलुकमा नयाँ होटलकेहको खोजी गरिहेको थियो । सोल्टीले युरोप तथा मध्यपूर्वी एसियामा पनि उपयुक्त होटल व्यवस्थापनका लागि खोजेको छ ।

पाँचतारे होटल चलाइरहेको सोल्टीले युरोपेली मुलुकमा व्यवस्थापनका लागि होटल खोजिरहेको छ ।

नेपालमै पाँचतारेसहित एक दर्जनको व्यवस्थापन सम्हाल्दै गरेको यो होटललले मध्यम तथा उच्च वर्षका ग्राहकलाई सेवा दिने गरी काठमाडौं र काठमाडौं बाहिरका १२ वटा होटलको व्यवस्थापन गर्दै छ ।

सोल्टिमोड–ताहाचलको सोल्टी होटलले सोल्टी होटल काठमाडौंको ब्राण्डमा हाल विभिन्न होटलको व्यवस्थापन सम्हालिरहेको छ । सोल्टीले नेपालगञ्जमा पाँचतारे होटल सोल्टी सिब्क्रिम चलाइरहेको छ भने पोखरामा पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरिरहेको छ । यो होटलको व्यवस्थापनमा इटहरीमा पाँचतारे होटल सञ्चालन हुँदै छ भने यसले नगरकोटको तायो इको रिसोर्टकोसमेत व्यवस्थापन सम्हालेको छ ।

सञ्चालनमा आएका, निर्माणाधीन र निर्माणको तयारीमा रहेकोसमेत गरी सोल्टी होटलले अहिले १२ वटा होटलको व्यवस्थापन सम्हालिरहेको छ । होटल नेपाली व्यवस्थापनमा आएपछि लगानी विस्तार र बजारीकरणमा थप आक्रामक बनेको छ ।

लामो समय विदेशी व्यवस्थापनमा चलेको यो होटलबाट ३ वर्ष अगाडि मात्रै विदेशी व्यवस्थापन समूह बाहिरिएको थियो । साढे २ दशकभन्दा लामो समयदेखि सोल्टी होटलको व्यवस्थापन सम्हालेको बेलायती कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी) बाहिरिएपछि नेपाली व्यवस्थापनले नै होटल सम्हाल्न थालेको हो । यो होटलले यसअघि बनाइरहेको र सम्हाल्न थालेको सबै होटल अब ‘दि सोल्टी काठमाडौं’को नामबाट विश्वका विभिन्न देशमा पुग्ने योजनाका साथ अगाडि बढ्न थालिसकेको छ ।

‘विदेशी व्यवस्थापन नहुँदा नेपालबाट बाहिरिने रकम रोकिन्छ भने नेपालभित्रै नेपाली हस्पिटालीलाई प्रवद्र्धन गर्न सकिने छ । विदेशी व्यवस्थापनका लागि बाहिरिने विदेशी मुद्राको पनि बचत हुन्छ,’ चापागाईंले भने, ‘नेपाली होटलसँगै संसारभर अब्बल मानिएका होटलका जनशक्ति भएकाले पनि आफ्नै व्यवस्थापनलाई प्रवद्र्धन गर्न लागिपरेको हो ।’


राजु बास्कोटा