सहकारी पीडितको धर्नाबारे टिप्पणी नगर्न मन्त्रीलाई छानबिन समिति सभापति थापाको निर्देशन



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले भूमिव्यवस्था, सहकारी र गरिवी निवारण मन्त्री बलराम अधिकारीलाई पीडित बचतकर्ताको भावनामा ठेस पुग्ने कुरा गर्दै नहिंडन निर्देशन दिएका छन् ।

बचतकर्ताको भावनामा चोट पुग्नेगरी पीडितहरूको आन्दोलन, रिले अनसन र धर्नाप्रति नकारात्मक टिप्पणी र कटाक्ष नगर्न निर्देशन दिएका हुन् ।

शुक्रबारको बैठकमा मन्त्री अधिकारीलाई बोलाएर सभापति थापाले यस्तो निर्देशन दिएका छन् ।

उनले मन्त्री अधिकारीलाई सार्वजनिक अभिव्यक्तिमा संयमित एवं सन्तुलित भएर बोल्न निर्देशन दिएका हुन् । उनले पीडिहरूसँग वार्ता गरेर समस्याको अविलम्ब समाधान खोज्न ध्यानाकर्षण समेत गराएका छन् ।

सभापति थापाका अनुसार आन्दोलनरत बचतकर्ताहरूलाई संसदीय छानविन विशेष समितिमा पीडितहरूको प्रतिनिधि मण्डलसँग भएको चार घण्टा लामो छलफलको मर्म र इमान्दार प्रयासलाई विश्वास एवं भरोसा गर्नसमेत अनुरोध गरेका छन् ।

सहकारी मन्त्रालय र सम्बद्ध निकायका जिम्मेवारहरूसँग प्रतिवेदनकेन्द्रित अन्तिम सुझाव अविलम्ब लिखित रूपमा उपलब्ध गराउन समेत समितिले निर्देशन दिएको छ ।

मन्त्री अधिकारीले सहकारीमा एकै प्रकृतिका मानिस नभएको, कोही सानो बचत गर्ने, कोही ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेको बताउँदै आएका छन् ।

साथै उनले बैंकले थोरै ब्याज दिने भएपछि बढी ब्याजका लागि सहकारीमा पैसा राख्दा पैसा फसेको, संघ, प्रदेशमा कार्य क्षेत्र भएका सहकारी पनि केन्द्रमा आएर आन्दोलन गरेको अभिव्यक्ति दिए ।

उनले सहकारीका आन्दोलनकारीसँग गरेको ८ बुँदे सहमतिमा ७ बुँदा कार्यान्वयन भएको बताउँदै आएका छन् । बचतकर्ताहरु भने माग पुरा नभएको बताउँदै आएका छन् ।


क्लिकमान्डु