१४ लाख जनाको पौने ३ खर्ब ठगिएको भन्दै १०६ दिनदेखि सहकारी पीडितको अनशन, मन्त्रीसँग किन रिसाए ?



काठमाडौं । करिब ३५० वटा सहकारी संस्थाबाट ठगिएको भन्दै बचतकर्ता विगत १०६ दिनदेखि काठमाडौंको रन्तपार्कमा रिलेअनसनमा छन् ।

सहकारी बचत संरक्षण राष्ट्रिय अभियान महासंघका उपाध्यक्ष तथा प्रवक्ता पुरुषोत्तम कार्कीका अनुसार ३५० सहकारीबाट १४ लाख जति बचतकर्ताको करिब पौने ३ खर्ब बढी ठगी भएको छ ।

उनीहरुले बचत कहिले फिर्ता पाउने हुन् त्यसमा अन्यौलता छ । बचतकर्ताहरुले अहिले तेस्रो पटक रिले अनसनमा छन् । बचतकर्ताहरुले यसअघि २०८० चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ८ बुँदे सहमति गरेको थियो ।

सरकारले महासंघसँग यसअघि गरेको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै पीडितहरु रिले अनसन गरेका छन् । सहकारीमन्त्री बलराम अधिकारीले ८ वटा माग मध्ये ७ वटा माग पूरा गरेको र एउटा माग पूरा हुन बाँकी भन्दै आएका छन् । तर, मन्त्रीको भनाइ मान्न महासंघ तयार छैन ।

आफ्नो माग पूरा नभएको, बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण गठन गर्न माग गरेका छन् । सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्नु पर्ने माग उनीहरुको रहेको छ ।

सरकारले आन्दोलनरत बचतकर्तासँग गरेको ८ बुँदे सहमति पनि यही विषयमा सम्झौता भएको थियो । अहिले बचतकर्ताले बचत फिर्ताको माग गर्नु भन्दा पनि यसअघि भएको ८ बुँदे माग पुरा गर भनेर रिले अनसनमा बसेका छन् । सहकारीको बचत फिर्ता हुनेगरी निती बनाउन माग गर्दै आएका बचतकर्ता मन्त्रीको पछिल्लो अभिव्यत्तिले आफूहरुलाई आक्रोशित बनाएको कार्कीको भनाइ छ ।

मन्त्री अधिकारीले सहकारीमा एकै प्रकृतिका मानिस नभएको, कोही सानो बचत गर्ने, कोही ठूलो ठूलो बचत गर्ने, कोही आन्दोलनका लागि मात्र पनि सहकारीमा प्रवेश गरेको बताएका थिए । साथै उनले बैंकले थोरै ब्याज दिने भएपछि बढी ब्याजका लागि सहकारीमा पैसा राख्दा पैसा फसेको, संघ, प्रदेशमा कार्य क्षेत्र भएका सहकारी पनि केन्द्रमा आएर आन्दोलन गरेको अभिव्यक्ति दिए ।

मन्त्रीको उक्त अभिव्यक्तिपछि बचतकर्ता थप आक्रोशित भएका छन् ।

मन्त्री अधिकारी सहकारीका सबै समस्या समाधान गर्न ऐन, नियम, कानून अनुसार काम हुनुपर्ने बताउँछन् । यता बचतकर्ता उनै मन्त्री अधिकारीसँग गरेको ८ बुँदे सम्झौता पुरा गर भनेर १०६ दिनदेखि रिले अनसनमा छन् । सयौं सहकारीमा लाखौं बचतकर्ताको खर्बौं रुपैयाँ फसेपछि अब बचतकर्ता कसरी अघि बढ्छन भन्ने विषयमा सहकारी बचत संरक्षण राष्ट्रिय अभियान महासंघका उपाध्यक्ष तथा प्रवक्ता पुरुषोत्तम कार्कीसँग क्लिकमाण्डुले गरेको कुराकानीः


क्लिकमान्डु