योगेशविरुद्ध माओवादी सांसद: हतियार तस्करी र चन्दा संकलनको नाइकेले हिंसा भन्‍ने !



काठमाडौं । पूर्वमन्त्री एवं एमालेका सांसद योगेश भट्टराईले बुधबारको संसदमा दिएको अभिव्यक्तिलाई लिएर बिहीबारको बैठकमा पनि केही सांसदहरुले आपत्ति जनाए । विशेषगरी माओवादीका सांसदहरुले भट्टाईको ‘माओवादी हिंसा’ शब्दप्रति आपत्ति जनाउँदै उनले देशलाई फेरि द्वन्द्वमा फसाउने मनशाय देखाएको प्रतिक्रिया दिए ।

बुधबारको संसद बैठकमा बोल्दै सांसद भट्टराईले ‘माओवादी हिंसा’का कारण लोडसेडिङ चाँडै अन्त्य नभएको आरोप लगाएका थिए । त्यस क्रममा उनले पटक पटक ‘माओवादी हिंसा’ शब्दलाई दोहोर्‍याइरहेका थिए । जसकारण संसद्‍मा निकै बेरसम्म खैलाबैला नै भयो । माओवादी सांसदहरुले आपत्ति जनाइरहँदा र सभामुखले रुलिङ गर्दा पनि सांसद भट्टराईले ‘माओवादी शब्द’लाई दोहोर्‍याइरहे ।

त्यसको भोलिपल्ट बिहीबारको बैठकमा नेता भट्टराईलाई उक्त अभिव्यक्ति गलपासो बन्यो । आज माओवादीका दुई सांसद छिरिङ डन्डु लामा भोटे र छिरिङ ल्हामु लामा तामाङले एमाले सांसद योगेश भट्टराईको नाम उच्चारण नगरिकन उनले माओवादी युद्धको बेला हातहतियार तस्करी गरेको प्रश्न उठिरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने बताएका थिए ।

‘हिजो एमालेका एक माननीयले माओवादी जनयुद्धको विषयमा अभिव्यक्ति दिनुभयो । संसद्‍को सामान्य मान पनि नराखी माओवादीको अपमान गर्दै असंवैधानिक अभिव्यक्ति दिनुभयो । उहाँको अभिव्यक्तिले उहाँ फेरि देशलाई द्वन्द्वमा फसाउन चाहनुहुन्छ भन्ने मनशाय देखाउँछ,’ सांसद छिरिङ ल्हामु लामा तामाङले भनिन्, ‘उहाँको विषयमा एक माननीयले हातहतियार ओसारपोसार गरेको आरोप लगाउनुभएको छ । उहाँ सधैँ विवादमा आइरहनुहुन्छ । नारायणहिटीको बतास कान्डदेखि हातहतियार ओसारपोसार गरेको विषयमा उहाँमाथि छानबिन गर्नुर्छ ।’

केही महिनाअघि मात्रै पूर्वमन्त्री एवं एमालेका पूर्वनेता तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले सार्वजनिक स्थलमै योगेश भट्टराईलाई हातहतियार तस्करको आरोप लगाएका थिए । आलेको उक्त आरोपका आधारमा बिहीबार माओवादी सांसद छिरिङ ल्हामु लामाले छानबिन गर्नुपर्ने बताएकी हुन् ।

माओवादीका अर्का सांसद छिरिङ डन्डु लामा भोटेले पनि सांसद भट्टराईप्रति लक्षित गर्दै उनले माओवादी युद्धको समयमा हातहतियार तस्करी गरेको र चन्दा संकलनको नाइके नै रहेको आरोप लगाए ।

सांसद छिरिङ डन्डु लामाले २००७ देखि पटक पटक मुक्तिका लागि भएका विद्रोहलाई नजरअन्दाज गरेको भन्दै असंवैधानिक अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका थिए । उनले पनि भट्टराई प्रति लक्षित गर्दै हतहतियार तस्कर र चन्दा संकलनको नाइके भन्दै टिप्पणी दिएका थिए ।

बुधबार संसद्‍मा डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विषयमा बोल्न उठेका सांसद भट्टराईले पटक पटक ‘माओवादी हिंसा’ भन्दै बोलेपछि माओवादीका सांसदहरु आक्रोशित बनेका हुन् । त्यही विवादको श्रृंखला बिहीबारको संसद्‍मा पनि देखिएको छ ।


क्लिकमान्डु