भारतीय तीर्थयात्री बोकेको बस दुर्घटनामा बेपत्ता यात्रु अझै भेटिएनन्



तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङदी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एक यात्रु पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।

भारतीय तीर्थयात्रीहरु बोकेको उक्त बस दुर्घटना हुँदा २७ जनाको शव घटनास्थलबाट निकालिएको थियो । एक जना भने अझै बेपत्ता छन् ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङदीमा खस्दा बेपत्ता भएका २२ वर्षीय गोकर्णी सन्दीप सरोदे मङ्गलबारसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । बेपत्ता भएको सरोदेको खोजी भइरहे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । सोमबार नदीमा खसेको बस निकाल्ने क्रममा बसले च्यापिएको अवस्थामा छ कि भन्ने आशङ्का रहे पनि उनी फेला नपरेको प्रहरीको भनाइ छ ।

बेपत्ता भएका सरोदेका बुबाआमाको सोही दुर्घटनामा परी मृत्यु भएको छ । प्रनाउ रायले भने, “घाइतेहरूले दिएको विवरणका आधारमा उनी फेला परेका छैनन् । सम्भावित ठाउँमा खोजी भइरहेको छ ।” प्रहरीले गत सोमबार आठ घण्टाको प्रयासमा नदीबाट बस निकालेर सडक नजिकको भागसम्म ल्याएको थियो ।


क्लिकमान्डु