नेपाली तीर्थयात्री बोकेको बस भारतको बिहारमा दुर्घटना, ३० भन्दा धेरै घाइते



काठमाडौं । नेपालबाट तीर्थयात्री बोकेर भारतको देवघर जाँदै गरेको नेपाली बस बिहारको समस्तीपुरस्थित मुश्रीघरारी थानामा दुर्घटना हुदा ३० जनाभन्दा धेरै यात्रु घाइते भएका छन् ।

ना ७ ख ६४४६ नम्बरको बस दुर्घटनामा घाइते भएका सबै यात्रुहरुलाई मुश्रीघरारीको निजी तथा सदर अस्पतालमा भर्ना गरिएको छ ।

४३ नेपाली तीर्थयात्री बोकेको उक्त बस आइतबार बिहान ३ बजेतिर भएको बताइएको छ । भारतीय पर्यटक बोकेर नेपाल आएको भारतीय नम्बरप्लेटको बस तनहुँमा दुर्घटना भएको एक साताभित्रै नेपाली तीर्थयात्री लिएर गएको नेपाली बस भारतमा दुर्घटना भएको हो ।

मुश्रीघरारी थाना क्षेत्रको राष्ट्रिय राजमार्ग २८ चोकबाट केही टाढा गएपछि बसको एक्सेल फुटेर दुर्घटना भएको यात्रुहरुलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बसको गति तीब्र नरहेको र सडकको छेउमै पल्टिएको पनि यात्रुहरुले बताएका छन् ।

दुर्घटनामा बारा जिल्लाका रामकिशोर महतो, झुनिया देवी, रोशनी मुखिया, परम शीला देवी, श्रीपति मुखिया, पार्वती देवी, बिंदेश्वर मुखिया, लक्की मुखिया, अरुण मुखिया, परमिंदर मुखिया, जगत मुखिया, विनोद पंडित, मोती पंडित, विश्वनाथ मुखिया, राजेश साह, लक्ष्मी यादव लगायत घाइते भएको बताइएको छ ।

घाइतेमध्ये केही तीर्थयात्रीलाई बिहान नै सदर अस्पतालमा प्राथमिक उपचार गरी डिस्चार्ज गरिएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै मुश्रीघरारी प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर बसमा फसेका तीर्थयात्रीलाई बाहिर निकालेर घाइतेलाई उपचारका लागि राष्ट्रिय राजमार्गस्थित निजी अस्पतालमा लगिएको थियो ।

नेपालसँगको सीमा क्षेत्रमा रहेको जयनगर क्षेत्रबाट बस चढेर जलाभिषेक गर्न तीर्थयात्रीहरू देवघर जाँदै गरेका थिए । बसको गति धेरै नहुँदा मानवीय क्षति भने भएको छैन ।


क्लिकमान्डु