डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाइन्छ, प्राधिकरणसँग मतभेद छैन: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक रुपियाँ पनि नछाडेर उठाउने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ । विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइड जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’ उनले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि स्पष्ट पारे ।

अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीनप्रचार भइरहेको उल्लेख गर्दै उनले विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुठो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुठो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।’


क्लिकमान्डु