अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीरको आविष्कार केन्द्रलाई



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधबार मन्त्रालय र आविष्कार केन्द्रबीच हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको बताए । उनले सीमित श्रोत, साधनका कारण आवश्यकता अनुसारका उपकरणहरु खरिद गर्नसक्ने अवस्था नरहेको भन्दै भएका उपकरणहरुलाई बढीभन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले आवष्कार केन्द्रसँग सम्झौता गरेको बताए ।

प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउनसके ठूलो धनराशिको खर्च पनि नहुने र राज्यको सीमति खर्चभित्र उपकरणहरु व्यवस्थापन हुने मन्त्री पौडेलले बताएका थिए । थन्किएको उपकरणहरुको व्यवस्थापन गर्नसके अस्पताल पनि सफा हुने र अस्पताललाई आवश्यक उपकरणहरु पनि प्राप्त हुने उनको भनाइ थियो । मन्त्री पौडेलले संघीय १७ वटै अस्पतालमा उपकरण व्यवस्थापनमा महत्वपूर्ण काम हुने विश्वास व्यक्त गरे ।

सम्झौतापछि मन्त्री पौडेलले भने, ‘स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । हामीसँग सीमित श्रोत, साधन छ । हामीले साधन, श्रोत बढाएर तत्काल हाम्रा आवश्यकताअनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था छैन । त्यसकारण अहिले हामीसँग भएका उपकरणहरुलाई बढी भन्दा बढी कसरी प्रयोगमा ल्याउन सकिन्छ ? प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउन सकियो भने त्यसमा धेरै ठूलो खर्च हुँदैन । राज्यको सिमति खर्चभित्र हामीले उपकरणहरु व्यवस्थापन गर्नका निम्ति हामीले यो काम सुरु गरेका हौँ ।’

यो सम्झौताले स्वयंसेवी संस्था र स्वदेशी वैज्ञानिकहरुलाई राज्यले विश्वास गरेको देखिने पनि मन्त्री पौडेलको भनाइ थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रले थप अर्को जिम्मेवारी पाएको बताए ।

संघीय सरकारअन्तर्गत रहेका अस्पतालहरुको बायोमेडिकल इक्वीपमेण्टहरु, बिरामी जाँच गर्ने उपकरणहरुको रेखदेख गर्ने, मर्मत गर्ने र त्यसको अवस्था बुझेर मर्मत गर्नसक्नेलाई मर्मत गर्ने बताए । उनले आफूहरुका लागि यो ठूलो जिम्मेवारी भएको र इक्वीपमेण्टलाई राम्रो कण्डिसनमा राखेर बेलैमा उपलब्ध गराउनसके मान्छेको ज्यान बचाउन सकिने बताएका थिए ।


क्लिकमान्डु