निशुल्क शिक्षा-स्वास्थ्य उपलब्ध गराउनुपर्छ: शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महंगो भएको भन्दै संविधानमा उल्लेख भए अनुसार निशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउनुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन् । संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको उनको गुनासो थियो । उनल शिक्षा र स्वास्थ्य हुने खानेले मात्रै गर्ने हो भन्ने हिसावले राज्य अघि बढिरहेको भन्दै दुःख व्यक्त गरेका थिए ।

शिक्षा र स्वास्थ्यको महंगी हटाउनुपर्ने नेता कोइरालाको भनाइ छ । सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका थिए ।

‘मलाई केही चिन्ता लागेको छ । हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ । शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ । एजुकेसन यस्तो महंगो भइसकेको छ, त्यसको प्राइस कसरी घटाउने हो ? मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो,’ नेता कोइरालाले भने ।

यस्तै सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था रहेको भन्दै उनले यसलाई सर्वसुलभ बनाउनुपर्ने बताए । कोइरालाले भने, ‘हुने खानेले मात्रै पढ्ने हो कि, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ । सरकारको धयन त्यतातिर हामीले पुर्‍याउनुपर्छ ।’


क्लिकमान्डु