सोलुखुम्बु बाढी: अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सांसदहरुको माग



काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर आएको बाढीको सम्बन्धमा अनुसन्धान गर्न जोखिममा रहेको बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सांसदहरुले माग गरेका छन् । आइतबार राष्ट्रिय सभाको आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले उक्त घटनालाई लिएर सतर्कता अपनाउन सरकारलाई आग्रह गरेका छन् । साथै हिमताल फुट्नुको कारणबारे सरकारले अनुसन्धान गर्नुपर्ने उनको माग थियो । ‘पाँचमध्ये दुइटा ताल फुटे र थप दुई फुट्ने क्रममा रहेको भनिएको छ । यसको अनुसन्धान होस् । थप क्षति हुन सक्ने बस्ती तत्कालै स्थानान्तरण गरियोस्’, सांसद रोकायाले भने ।

मौसमविद्‍हरुले जलवायु परिवर्तनको असरले हिमताल फुटेको बताइरहँदा सांसदहरुले यसप्रति सरकार सतर्क रहनुपर्ने भन्दै सुझाव दिएका थिए । ‘जलवायु परिवर्तनको कारण थामे घटना हो भन्ने आएको छ । यस्तो घटना फेरि पनि दोहोरिन सक्छन् । यो विषयमा हामी गम्भीर हुन जरुरी छ’, नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले भेकी छन् ।

यस्तै नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले जलवायु परिवर्तनको असर देखिन थालेको भन्दै यस सम्बन्धमा सरकारले ‘हिमाल जोगाऔं’ अभियान चलाउनुपर्ने बताएकी छन् ।

नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुसहित हिमताल फुटेर हुनसक्ने सम्भावित क्षेत्रको बस्ती स्थानान्तरणका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका थिए । साथै जोखिमका बस्ती स्थानान्तरण गरेर अनुसन्धानमा सरकार अगाडि बढ्नुपर्ने उनको माग थियो ।

साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँमा हिमताल फुटेर बाढी आउँदा १३ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । र ४१ वटा घर बस्न नमिल्ने अवस्थामा क्षतिग्रस्त बनेका छन् । अरु १० वटा घरमा आशिंक क्षति पुगेको छ ।

बाढीमा परी एक जना बेपत्ता भएका छन् । सांसदहरुले उक्त बाढीको मुद्दालाई नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुपर्ने पनि सुझाव दिएका थिए । यसैबीच रक्षामन्त्री मानवीर राईले बाढी क्षेत्रको अवलोकन गरेका छन् ।


क्लिकमान्डु