मंकीपक्स फैलिएपछि डब्लूएचओद्वारा स्वास्थ्य आपतकाल घोषणा, नेपाल कति सुरक्षित ?



घातक मानिएको एमपक्स अर्थात् मंकीपक्सका कारण हजारौं मानिस संक्रमित हुनुका साथै ४ सय ५० भन्दा धेरेको मृत्यु भएपछि विश्वभरका वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । यसलाई तत्कालै नियन्त्रण नगरे धेरै क्षति निम्त्याउने चेतावनी दिइएको छ ।

एजेन्सी । एमपक्स अर्थात् मंकीपक्स प्रकोपका कारण अफ्रिकामा सयौंको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

कंगोमा हालै मंकीपक्सका कारण ४ सय ५० जनाको मृत्यु भएपछि यसबारे अन्तर्राष्ट्रिय समुदायले चासो र चिन्ता प्रकट गर्न थालेका छन् ।

यो प्रकोप हाल मध्य र पूर्वी अफ्रिकामा तीब्र रुपमा फैलिरहेको छ । यसको तीब्र संक्रमण र मृत्युदरलाई लिएर वैज्ञानिकहरुले चिन्ता व्यक्त गर्दै यसका उपायको खोजी गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधनम घेब्रेससले अफ्रिका र बाहिर पनि यो तीब्र रुपमा फैलिनसक्नेमा चिन्ता व्यक्त गरेका छन् । घेब्रेससले भनेका छन्, ‘यो ज्यादै चिन्ताजनक छ । यसको प्रकोप रोक्न र जीवन बचाउनका लागि एक समन्वयात्मक कदम आवश्यक छ ।’

कसरी सर्छ मंकीपक्स ?

विज्ञहरुका अनुसार संक्रमितको छाला छुँदा, यौन सम्पर्क गर्दा र उनीहरुको स्वासप्रस्वासबाट पनि मंकीपक्स अर्को व्यक्तिमा सर्न सक्छ । संक्रमित मानिसमा यसले फ्लू जस्तो लक्षण देखाउँछ । छालामा घाउ हुनुका साथै फोका उठेको हुन्छ र यसले ज्यानै लिनसक्छ । हालसम्म यसको अनुसन्धानबाट प्रत्येक १ सय जना संक्रमितमध्ये ४ जनाको मृत्यु हुने गरेको बताइएको छ ।

तर भ्याक्सिनको माध्यमबाट यसको संक्रमण रोक्न सकिने पनि विज्ञहरुले सुझाव दिएका छन् । विशेषगरी संक्रमित र संक्रमणको जोखिममा रहेका मानिसहरुसँग नजिक रहेका व्यक्तिहरुलाई खोप दिन सकिने विज्ञहरुले बताएका छन् ।

विज्ञहरुका अनुसार मंकीपक्स मुख्य रुपमा दुई प्रकारका हुन्छन् । क्लेड १ र क्लेड २ । यसअघि २०२२ मा मंकीपक्सको संक्रमण फैलिँदा स्वास्थ्य संकट घोषणा गरिएको थियो ।

मंकीपक्स कति घातक ?

त्यसबेला विशेषगरी क्लेड २ प्रकृतिको मंकीपक्स फैलिएको थियो । यसपटक भने क्लेड १ प्रतिकृतिको मंकीपक्स फैलिएको हो । जुन तुलनात्मक रुपमा धेरै घातक मानिन्छ । र क्लेड १ ले यसअघि मंकीपक्स भएका १० प्रतिशत संक्रमितको ज्यान लिएको छ । र मृत्युदर बढाइरहेको पनि बताइएको छ ।

गत वर्षको सेप्टेम्बरमा मंकीपक्सको भाइरसमा आएको परिवर्तनले क्लेड १ निम्त्याएको थियो । जुन हाल घातक संक्रमणको रुपमा तीब्र रुपमा फैलिरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केही वैज्ञानिकहरुले यसलाई अहिलेसम्मकै घातक संक्रमणको रुपमा सूचीकृत गरेका छन् । यस वर्षको सुरुमा कंगोमा मात्रै १३ हजार ७ सय मानिसमा संक्रमण देखिएकोमा ४ सय ५० को मृत्यु भइसकेको छ ।

हाल यो संक्रमण ब्रुनाइ, मध्य अफ्रिका, केन्या र रुवान्डामा तीब्र रुपमा फैलिरहेको छ । २०२२ मा युरोप र एसियासहित जम्मा १ सय देशमा मंकीपक्सको क्लेड २ फैलिँदा ८७ हजार जनामा संक्रमण हुनुका साथै १ सय ४० जनाभन्दा धेरैको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हाल यो प्रकोपलाई तत्काल नियन्त्रण नगरे यसले धेरैतिर फैलनसक्ने र घातक रुप लिनसक्ने भन्दै वैज्ञानिकहरुले चेतावनी दिएका छन् । गत वर्ष यसको प्रकोप फैलिरहँदा भारत लगायत दक्षिण एसियाका देशहरुले यसलाई बेवास्ता गरेको र प्रतिरोधी पहलहरु नगरेको भन्दै वैज्ञानिहरुले चिन्ता व्यक्त गरका थिए ।

२०२२ मा भने मंकीपक्स प्रकोप फैलिँदा वैज्ञानिकहरुले नेपाल पनि जोखिममा रहेको भन्दै चेतावनी दिएका थिए । यसपटक भने नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले नेपालको जोखिमको विषयमा केही उल्लेख गरेको छैन ।


क्लिकमान्डु