दलीय भागबण्डाबाट बनेको आयोगले न्याय सुनिश्‍चित गर्न सक्दैन: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संक्रमणकालीन न्याय निरुपणको गाँठो फुकाउनेगरी कानून बने पनि कानून आफैँले न्याय नदिने भएकाले न्याय दिनका लागि संरचना चाहिने बताए । उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने पनि बताएका थिए ।

लामिछानेले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्नेमा जोड दिएका थिए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखेका थिए । राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने भन्दै उनको सुझाव थियो ।

‘संक्रमणकालीन न्याय निरुपणका गाँठो फुकाउने गरी कानून त बन्ने भयो । तर कानून आफैँले न्याय दिने चाहीँ होइन । संरचना यसका लागि चाहिन्छ । र ती संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ । फेरि पनि राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला । तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन,’ सांसद लामिछानेले भने ।

आयोगलाई नाममा मात्र नभएर काममा पनि स्वतन्त्र र निष्पक्ष बनाउनका लागि उनले आह्वान गरेका थिए । उनले भने, ‘मेलमिलापका लागि पीडक पक्षले पीडितलाई दबाब र प्रभावमा पार्ने खतरा जहिले पनि रहन्छ । राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोमार्फत रायको लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना पनि त्यत्तिकै रहन्छ । यी दुवै विषयमा पूर्वसचेतना र सकारात्मक खबरदारी आवश्यक पर्दछ ।’

यस्तै लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताएका थिए । अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने उनले बताएका थिए ।


क्लिकमान्डु