अन्तर्राष्ट्रिय विमानस्थल बनेका २ सहरमा वैदेशिक रोजगारीका सबै सेवा पाइने, भिसा चाहीँ काठमाडौंमै



काठमाडौं । वैदशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक सबै सेवा मोफसलका दुई सहरमै उपलब्ध हुने भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएका सहरहरु पोखरा र भैरहवाबाट नै वैदेशिक रोजगारीमा जानेका लागि स्वास्थ्य परीक्षण, बिमा, अभिमुखीकरण लगायत सेवा उपलब्ध गराइने भएको हो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएका सहरहरुमा यी सेवा पाउने भएपछि वैदेशिक रोजगारीमा जानेहरु काठमाडौं आउनुपर्ने बाध्यता हट्ने भएको छ । हालसम्म काठमाडौंबाहेकका विभिन्न श्रम कार्यालयबाट श्रम स्वीकृति पाइने भए पनि अन्य सेवाका लागि राजधानी नै आउनुपर्ने स्थिति थियो ।

अबदेखि यो बाध्यतालाई अन्त्य हुने विश्वास गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध गराउने सम्बन्धमा श्रम मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधिसहित बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले बताए ।

निर्णयअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरुलाई आवश्यक पर्ने सबै सेवा सुविधा सम्बन्धित विमानस्थलको पायक पर्ने स्थान र कार्यालयबाट नै उपलब्ध हुनेछ । यसैगरी वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले स्वास्थ्य परीक्षण, पूर्व प्रस्थान अभिमुखीकरण तालिम, बिमा, श्रम स्वीकृति र भिषासँग सम्बन्धित कामका लागि काठमाडौं आउनु पर्ने अवस्थाको अन्त्य गर्नका लागि समेत हाल प्रदान गरी रहेको सेवा र सम्पादन गरी रहेका कामहरु भैरहवा र पोखराबाट गर्ने गरी आवश्यक व्यवस्था सबै संघसंस्थाहरुले मिलाउने निर्णय भएको छ ।

सहमतिअनुसार सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने सेवाहरुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुले व्यवस्था मिलाइने छ भने श्रम स्वीकृती लगायतका सेवाहरुलाई सरल र सहज बनाउन वैदेशिक रोजगार विभागले आवश्यक व्यवस्था मिलाउनेछ ।

यता भिसा सेन्टर स्थापनाका लागि परराष्ट्र मन्त्रालय मार्फत अनुरोध गर्ने निर्णय पनि भएको छ । भिसाका लागि सम्बन्धित देशका राजदुतावास वा भिसा सेन्टर पुग्नुपर्ने बाध्यता रहेको छ । सबै सेवा काठमाडौं बाहिरैबाट मिल्ने भए पनि भिसाको बारेमा भने अझै अलमल नै छ । परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका राजदुताबासले सहयोग नगरेको खण्डमा कम्तिमा एउटा कामका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता अन्त्य हुने छैन ।


क्लिकमान्डु