ठगी आरोपमा एक महिला पक्राउ



काठमाडौँ । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिने भन्दै रु पाँच लाख ३५ हजार ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गोदावरी नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–३१ बानेश्वर बस्ने २७ वर्षीया दीपा चन्द रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

“बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाउने भनी पीडितबाट रु पाँच लाख ३५ हजार रकम लिएपश्चात् विदेश नपठाई निज सम्पर्कविहीन भएको भन्ने पीडितले दिएको जाहेरी दरखास्तअनुसार निजलाई पक्राउ गरिएको हो,” आचार्यले भने ।

भक्तपुरको ठिमीबाट पक्राउ परेकी निज चन्दलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।


क्लिकमान्डु