हिमालय एयरलाइन्सले भदौ ४ देखि कुवेतमा उडान फेरि सुरु गर्दै



काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एयरलाइन्स, हिमालय एअरलाइन्सले आगामी भदौ ४ (अगस्ट २०, २०२४) देखि कुवेतमा पुनः उडान गर्ने भएको छ ।

यात्रुहरूको आवश्यकता पूरा गर्ने प्रतिबद्धतालाई देखाउँदै कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्दै हिमालय एयरलाइन्सले सीधा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ।

काठमाडौं–कुवेत–काठमाडौंमा पुनः सुरु गरिएको यस उडानले एयरलाइन्सको दुई राष्ट्रका नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले जनाएको छ ।

कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको हिमालय एयरले जनाएको छ ।

सुरुवातमा, काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएको एयरलाइन्सले जनाएको छ ।

काठमाडौं–कुवेत उडान, काठमाडौंबाट स्थानीय समय अनुसार बिहान ००:४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३:१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्ने कम्पनीले जनाएको छ । त्यसैगरी कुवेत–काठमाडौं उडान कुवेतबाट स्थानीय समय बिहान ०४:१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११:५० मा काठमाडौं अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध छ र काठमाडौं–कुवेत मार्गमा उडान पुनःस्थापना लक्ष्यको प्रमाण भएको एयरलाइन्सले जनाएको छ ।

हिमालय एअरलाइन्स नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो । जसको स्थापना सन् २०१४ मा भएको थियो । हिमालय एअरलाइन्स्, तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र यती वल्र्ड इन्भेस्टमेन्टबीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित वायुसेवा कम्पनी हो ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२० – २१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्सले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू–संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु