दुई पुनर्बिमा कम्पनीले गरे साढे ३५ अर्ब बढी लगानी, धेरै रकम मुद्दती निक्षेपमा



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म दुईवटा पुनर्बिमा कम्पनीले ३८ अर्ब ५६ करोड ४८ लाख ४४ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

बढी लगानी गर्नेमा नेपाल पुनर्बिमा कम्पनी रहेको छ भने दोस्रोमा हिमालयन रि इन्स्योरेन्स रहेको छ ।

बिमा प्राधिकरणकाअनुसार नेपाल पुनर्बिमा कम्पनीले २० अर्ब ७८ करोड ७० लाख ४३ हजार रुपैयाँ लगानी गरेको छ भने हिमालयन रि इन्स्योरेन्सले १७ अर्ब ७७ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । बिमा प्राधिकरणले बिमा कम्पनीहरुका लागि लगानी गर्नका लागि १७ वटा क्षेत्र तोकेको छ ।

जसमा दुवै कम्पनीले चारवटा क्षेत्रमा लगानी गरेका छैनन् । चार शीर्षकका विभिन्न क्षेत्रमा पूर्वाधार बैंकको मुद्दती निक्षेप, घर जग्गा, सूचीकृत पब्लिक कम्पनी, बन्ड, डिबेन्चर र ऋणपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन, जलविद्युत, सौर्य उर्जा, नवीकरणीय उर्जा, केवलकार, सडक, विद्युत प्रशारण लाइन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा दुवै कम्पीले लगानी गरेका छैनन् ।

अन्य क्षेत्रमा भने लगानी गरेका छन् । दुवै कम्पनीले बढी लगानी बैंकको मुद्दती निक्षेपमा छ । नेपाल रिले बैंकहरुको मुद्दती निक्षेपमा १७ अर्ब ५१ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । नेपाल रिले ‘क’ वर्गको १५ अर्ब ५४ करोड ३१ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा १ अर्ब ८६ करोड ७६ लाख रुपैयाँ र ‘ग’ वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गरेको छ ।

नेपाल रिले सरकारी बचतपत्र र ऋणपत्रमा ३० करोड, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ, सूचीकृत कम्पनीको साधारण सेयरमा ९ करोड ४७ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ करोड ९ लाख रुपैयाँ लगानी गरेको छ । अन्य संस्थापक सेयरमा ५९ करोड ६८ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ ।

हिमालयन रिले बैंकहरुको मुद्दती निक्षेपमा १३ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले ‘क’ वर्गका बैंकहरुमा १३ अर्ब ५९ करोड ५१ लाख र ‘ख’ वर्गका विकास बैंकहरुमा १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको छ ।

हिमालयन रिले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ८ करोड ७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ४ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ९० करोड रुपैयाँ, अन्य संस्थापक सेयरमा ३७ करोड ९७ लाख रुपैयाँ र अन्य क्षेत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ ।


क्लिकमान्डु