नेपाली आकाशको सुरक्षामा नियामकको हेलचेक्र्याइँ बन्द गर



साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । दुर्घटनामा १८ जनाले ज्यान गुमाए । दुई सातापछि साउन २३ गते बुधबार(आज) नेपाली आकाशमा अर्को हवाई दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी कलसाइनको हेलिकप्टर नुवाकोटको जिल्लाको शिवपुरी गाउँपालिका-३ सूर्यचौरमा दुर्घटनाग्रस्त भयो । हेलिकप्टरका पाइलटसहित ५ जनाको यात्रुको मृत्यु भयो । नेपाली आकाशमा दुई सातामा नै २३ जनाको ज्यान गएको छ ।

नागरिक उड्ययन प्राधिकरणकाअनुसार २०३६ साल पुस १२ गते (१९७९ डिसेम्बर २७) मा लेटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए । त्यसयता बुधबार एयर डाइनेस्टीकोसहित नेपाली आकाशमा ४१ वटा हेलिकप्टर दुर्घटना भइसकेको छ ।

नेपालमा पहिलो हवाई दुर्घटना २००३ साल वैशाख २५ गते (१९४६ मे ७) मा भएको थियो । रोयल फोर्सको १४ जना सैनिकसहित २ जना चालक दलका सदस्य रहेको डकोटा जहाज नेपालमा पहिलोपटक दुर्घटनामा परेको भए पनि उक्त दुर्घटनामा मानवीय क्षति भने भएको थिएन । त्यसपछि भएका करिब १ सय हवाइ दुर्घटनामा ८ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

संसारमा सबैभन्दा सुरक्षित यातायातको रुपमा परिचित हवाई सेवा नेपालमा भने असुरक्षित हुँदै गएको छ । हवाई सेवाको लागि नेपालको भू-वनोट तथा वातावरणीय पक्ष अन्य मुलुकभन्दा अलि अप्ठयारो मानिन्छ । तर, त्यसो भन्दैमा नेपाली आकाश त्यति असुरक्षित हुनु पर्ने होइन ।

नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरु हुने गरेका भए पनि पछिल्ला दिनहरुमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधिक कारण लगायतले एकपछि अर्को दुर्घटनाहरु थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

तर, त्यसबाहेक अर्को गम्भीर समस्या उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको चरम लापरवाही पनि हो। सुरक्षित उड्डयन क्षेत्रका लागि नियमक निकायको गहन भूमिका र जिम्मेवारी रहन्छ । तर, नियामक निकायको हेलचक्रयाइँले पछिल्ला समयमा हवाई दुर्घटना बढ्न थालेको छ ।

नियमनलाई प्रभावकारी बनाउन नेपालमा हवाई सेवा नियमनका लागि छुट्टै निकाय बनाइएको छैन । नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर सेवा प्रदायक र नियमनकारी निकाय दुई बेग्लाबेग्लै निकायका रूपमा राख्ने युरोपेली युनियनको उड्डयन नियामकले लगातार उठाइरहेका छ ।

यसैकारण नेपाल युरोपेली युनियनको हवाई सुरक्षा चासो (कालोसूची) परेको एक दशक भइसकेको छ । नेपाली वायुयानहरु युरोपको आकाशमा उड्नमा प्रतिबन्धित छन् ।

हवाई सेवा सञ्चालन र नियमनका काम दुई भिन्न प्रकृतिका हुने भएका कारण एउटै संस्थाले दुबै काम गर्दा त्यसमा स्वार्थ बाझिन्छ । त्यसैले सरकारले पनि पटक पटक नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकहरू संसद्मा दर्ता गरे पनि अगाडि बढाउन सकेको छैन ।

प्राधिकरणलाई दुईवटा निकाय बनाउने विधेयक यसअघि राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेश नभई निष्क्रिय भएको थियो । उक्त विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो ।

तर, कर्मचारीतन्त्रको अनावश्यक दादागिरी तथा प्राधिकरणको नेतृत्वको नालायकीका कारण नेपाली आकाश असुरक्षित हुँदा पनि नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर सेवा प्रदायक र नियमनकारी निकाय बनाउन नसक्नु सरकारको चरम लाचारी हो ।

साउन १० गते संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपालको हवाई क्षेत्रको सुरक्षाको विषयमा नेपाल प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सांसदहरुले र्‍याखर्‍याख्ती पारेका थिए । अधिकारीले क्यानको नेतृत्व सम्हालेपछि नेपाली आकाशमा ७ वटा ठूला दुर्घटना भएको भन्दै सांसदहरुले उनको चर्को आलोचना गरेका थिए ।

समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद उदयसमशेर जबरासहितका सांसदले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाएका थिए । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि नेपाली आकाशमा ७ वटा ठूला हवाई दुर्घटना परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ थियो । प्राधिकरण नेतृत्वलाई सरकारले निलम्बन गर्नुपर्ने वा अधिकारीले राजीनामा दिनु पर्ने सांसदहरुको भनाइ थियो ।

तर प्राधिकरणको नेतृत्व सम्हालेका प्रदीप अधिकारीले आफ्नो बचाउँमा तथ्यसहित खण्डन गर्न सकेनन् । बरु उनले आफ्नो राजीनामा माग्ने सार्वभौम संसदका विरुद्ध ‘गधा’ शब्दको प्रयोग गर्दै अपमानपूर्ण आलोचना गरे ।

विमानस्थलको सञ्चालन र व्यवस्थापन गर्ने लगायत विमान सेवा तथा उडानको नियमन गर्ने काम नागरिक उड्डयन प्राधिकरणले नै गर्ने हुनाले नियमन प्रभावकारी नभएको युरोपेली युनियनलगायत अन्तर्राष्ट्रिय हवाइ उड्डयन संस्थाको चासो सम्बोधन गर्न सरकारले जति ढिलाइ गर्दछ त्यति नै नागरिकको जनधनको क्षति बढ्दो छ ।

त्यसैले, सरकारले तत्काल हालको प्राधिकरणलाई विभाजन गरि नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण बनाउनु आवश्यक छ । यदि प्राधिकरण नेतृत्व वा कर्मचारीतन्त्रले असहयोग गरे उनीहरुलाई कारवाही गर्न सरकार समर्थ छ । किनकि नागरिको जीउधनको सुरक्षामा सरकार कडाइका साथ प्रस्तुत हुन आवश्यक छ ।

त्यसमाथि नेपालको पर्यटकीय सिजन सुरु हुँदैछ । विदेशीहरुले नेपाल भ्रमणका लागि आफ्नो बुकिङ थालिसकेका छन् । यसै बेला नेपाली आकाशमा दुई सातामै दुई दुर्घटना हुँदा पर्यटकहरुमा सुरक्षाको त्रास हुन सक्छ । जसले गर्दा बुकिङ गरिसकेको नेपाल भ्रमण रद्द हुन सक्ने उच्च जोखिम हुनेछ । यसले नेपाललाई आर्थिक रुपमा प्रत्यक्ष घाटा त पर्ने नै छ, यसले अन्तर्राष्ट्रिय पर्यटन जगतमा नेपालबारे नकारात्मक छवि बन्ने छ ।

पछिल्लो वर्ष पर्यटक आगामनमा उत्साहजनक प्रगति हुँदा नेपालले विदेशी मुद्रा आर्जन पनि राम्रै गरिरहेको छ । तर नियामक निकायका कमजोरीका कारण यस्ता दुर्घटना बढ्दा पर्यटकको संख्या घट्नुका साथै विदेशी मुद्रा आर्जनमा पनि असर पर्ने निश्चित छ ।


क्लिकमान्डु