शेख हसिनाको घरभित्र आन्दोलनकारीको हर्कत: सारी लगाए, ओछ्यानमा सुतेर फोटोसुट



शेख हसिना देश छाडेर भागेपछि उत्तेजित बनेका आन्दोलनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेर अनेक हर्कत देखाए । केहीले शेख हसिनाको ओछ्यानमा सुतेर र केहीले उनको सारी लगाएर फोटोसुट गरे । थुप्रै आन्दोलनकारीहरुले घरभित्रका सामान लुटपाट गरेर लगे ।

एजेन्सी । प्रदर्शनकारीहरुले शेख हसिनालाई देश छोड्न जम्मा ४५ मिनेटको समय दिइएको थियो । प्रदर्शनकारीहरुले नाराबाजी गर्दै ४५ मिनेटभित्र राजीनामा दिएर देश छाड्न चेतावनी दिइरहेका थिए ।

हसिनाले भने देशवासीका नाममा सम्बोधन गर्ने चाहना भए पनि सम्बोधन गर्न पाइनन् । अन्तत:उनी जम्मा चार सुटकेस बोकेर बहिनीसहित भारततिर लागिन् । चार वटा सुटकेस बोकेर सेनाको हेलिकप्टरबाट देश छाड्ने क्रममा उनको साथमा जम्मा चार सुटकेस थिए ।

तर हसिनाले निवास छाडेपछि प्रदर्शनकारीहरुले प्रधानमन्त्री निवासभित्र प्रवेश गरेर जेजे गरे त्यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनीहरुले त्यहाँ नाराबाजी मात्रै गरेका छैनन् । उत्तेजित समूहले निवासभित्रबाट छिरेर थुप्रै सामान चोरी समेत गरेका छन् । प्रधानमन्त्री बस्ने कुर्सीदेखि सोफा, पंखा, फ्रिज, लत्ताकपडा, भाँडाकुँडा लगायत थुप्रै सामानको चोरी भएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाहरुमा देखाइएका भिडियो अनुसार प्रधानमन्त्री निवासमा छिरेका प्रदर्शनकारीहरुले त्यहाँभित्र सुतेर र कतिपयले प्रधानमन्त्रीको कुर्सीमा बसेर फोटोसुट समेत गरेका थिए ।

यस्तैमा केही भने सेख हसिनाको सारी लगाएर पनि फोटोसुट गरिरहेको देखिन्थे । केहीले भने उनका निजी कपडाहरु पनि उठाएको भिडियोमा देखिन्छ । ठूलो संख्यामा प्रदर्शनकारीहरुले ससाना सामग्रीहरु लुटपाट गरिरहेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

त्यस क्रममा कतिपय प्रदर्शनकारीहरु भने शेख हसिनाको कुर्सी मात्रै नभएर ओछ्यानमा सुतेर पनि फोटोसुट गराइरहेका देखिन्थे । साथै प्रधानमन्त्री निवासमा पालिएका केही जनावर र माछालाई पनि भीडले उठाउँदै गरेको भिडियोमा देखिन्छ ।

बंगलादेशमा पछिल्लो समय बेरोजगारी समस्या विकराल बन्दै जाँदा युवा विद्यार्थीहरुले आरक्षणको विरुद्धमा आन्दोलन उठाएका थिए । सरकारले स्वतन्त्रता सेनानीका सन्तान तथा सरकारी कर्मचारीहरुका सन्तानलाई दिँदै आएको आरक्षण सिट खारेज गरेर मेरिटका आधारमा सरकारी रोजगारीमा प्रतिस्पर्धा गराउनुपर्ने माग राख्दै आएका हुन् ।

तर सरकारले प्रदर्शन दबाउन प्रयास गरेपछि आन्दोलन थप हिंसात्मक बन्दै गएको हो । पछिल्लो समय सरकारले बल प्रयोग गरेपछि सोमबार प्रदर्शन झनै तीब्र भयो । फलस्वरुप प्रधानमन्त्री शेख हसिनाले देश नै छाडेर भाग्नुपरेको छ ।


क्लिकमान्डु