फिलिपिन्सको चाइना टाउनमा आगलागी हुँदा ११ जनाको मृत्यु



एजेन्सी । फिलिपिन्सको राजधानी मनिलाको चाइनाटाउनस्थित एक भवनमा शुक्रबार बिहान आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ ।

मनिलाको बिनोन्डोमा बिहान लागेको आगो नियन्त्रणका लागि १४ वटा दमकल र अग्नि नियन्त्रकलाई दुई घण्टा समय लागेको मनिलास्थित दमकल विभागले जनाएको छ ।

उद्धारकर्मीले पाँच तले भवनभित्र ११ जनाको शव फेला पारेको बताएका छन् । आगलागीको कारण र मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

मध्यान्हसम्म शव वाहन सडकमा लाइन लागेर बसेको देखिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । आगलागी भएको भवनको भुइँ तलामा पसलहरू र माथिल्लो तला आवासीय प्रयोगका लागि प्रयोग भएका थिए ।

गत वर्ष पनि अगस्टमा मनिलामा आगलागीबाट १६ जनाको ज्यान गएको थियो । २०१७ मा भने दक्षिणी डाभाओ सहरको एक सपिङ मलमा आगलागी हुँदा ३७ जनाको मृत्यु भएको थियो ।


क्लिकमान्डु