ऊर्जामन्त्री खड्कासँग विश्‍व बैंकका प्रतिनिधिको भेटवार्ता



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीको कार्यकक्षमा बिहीबार भएको भेटमा विश्व बैंक नेपालको ऊर्जा र सिंचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए । उनले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिसन लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिंचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैंक सहयोग रहने विश्वास व्यक्त गरे । विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै उक्त लक्ष्य हासिल गर्न विश्व बैंक सहयोग आवश्यक हुने बताए । उनले विश्व बैंक सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गरे ।

भेटमा विश्व बैंक देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिंचाइ क्षेत्रको विकासमा विश्व बैंक सधैँ साथ र सहयोग रहने बताए । उनले अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी काम भइरहेको बताए । ऊर्जासँगै सिंचाइको योजनालाई विश्व बैंकले प्राथमिकता दिने उनको भनाइ थियो ।


क्लिकमान्डु