अर्थमन्त्री पौडेलको प्रतिबद्धता: मिडियालाई कमजोर हुन दिँदैनौं



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशील, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने बताएका थिए ।

उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामर्थ्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा सरकारले ध्यान दिने बताएका थिए । तर गतिशील र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौती रहेको उनको भनाइ थियो । यस क्रममा अर्थमन्त्री पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्धबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए ।

अर्थमन्त्री पौडेलले सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताएका थिए । लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न पनि उनले आग्रह गरे । सरकारले सापेक्षित रुपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रुपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्‍याउनेतर्फ सरकार केन्द्रित रहेको बताए ।

‘हाम्रो सामर्थ्य, हाम्रो पहुँच, हाम्रो दायराभन्दा बाहिर परिस्थिति काबुभन्दा पर पुग्यो भन्ने नठान्नु होला । जरुर यहाँहरु समस्यामा हुनुहुन्छ । समस्या गम्भीर प्रकृतिका पनि छन् । तर समाधानको दायरा भन्दा बाहिर छैन । काबुभन्दा बाहिर परिस्थिति गइसकेको छैन । सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन । यति चाहीँ दाबीका साथ भन्छु । यहाँहरुले उठाएका मुद्दालाई व्यवस्थित रुपमा हेर्नेछु,’ अर्थमन्त्री पौडेलले भने ।


क्लिकमान्डु