३ वर्षमा पहिलो पटक म्याकडोनल्डको ब्यापार विश्‍वव्यापी रुपमा खस्कियो



चीनमा उपभोक्ताहरुको माग कम हुनु र इजरायलमा म्याकडोनल्ड नखाने भन्दै वहिष्कारको आन्दोलन पनि प्रमुख कारकको रुपमा देखिए

एजेन्सी । वहुराष्ट्रिय खाद्य कम्पनी म्याकडोनल्डले पछिल्लो तीन वर्षको अवधिमा विश्वव्यापी विक्रीमा सबैभन्दा कम व्यापार भएको रेकर्ड सार्जनिक गरेको छ । उपभोक्ताहरुको मागमा कमी र विकल्पको खोजीका कारण म्याकडोनल्डको व्यापार खस्किएको देखिएको छ ।

२०२४ को मध्य अप्रिलको रिपोर्ट अनुसार १ प्रतिशतले विक्रीमा गिरावट आएको छ । जुन गिरावट २०२० को अन्तिम त्रैमासिकयताको सबैभन्दा कम हो । जतिबेला कोरोना महामारी र सरकारको लकडाउनका कारण व्यापार घटेको थियो ।

यसबीचमा चीनमा उपभोक्ताहरुको माग घट्नुका साथै इजरायलमा म्याकडोनल्ड नखाने भन्दै उपभोक्ताहरुले गरेको वहिष्कारका कारण मध्यपूर्वभर नै यसको व्यापारमा असर पारेको बताइएको छ । चीनमा मात्रै उपभोक्ताहरुको माग घट्दा १.३ प्रतिशत गिरावट आएको देखिएको छ ।

म्याकडोनल्डका सीईओ क्रिस केम्पजिन्स्कीले भने उपभोक्ताहरुमा आफ्नो खर्चको लागि भेदभावपूर्ण भावना पैदा भएको प्रतिक्रिया दिएका छन् । ‘हामीले व्यापार घटेको देखिरहेका छौं । तर हामीले देखिरहेको अर्को पक्ष के पनि हो भने, कम आय भएका उपभोक्ताहरुको नोक्सान व्यापारको गिरावटभन्दा पनि धेरै हो,’ सीईओ केम्पजिन्स्कीले भने ।

धेरैजसो अवस्थामा उपभोक्ताहरु बजार जान छोडेको, घरमै बसेर खान थालेको र कतिपय अवस्थामा बचतका उपयहरु खोजिरहेको केम्पजिन्स्कीको भनाइ छ ।

त्यसो त यसअघि चीनमा ठूलो संख्यामा उपभोक्ताहरुले बजारमा खर्च नगरेर आफ्नो बचत जोगाउन थालेका समाचार प्रकाशन भएका थिए ।

तर आफूहरु ब्यापारको गिरावटलाई सन्तुलनमा ल्याउन काम गरिरहेको पनि उनले बताएका छन् । तर यो रातारात ठीक नभएर विस्तारै यस्तो अवस्थामा सुधार आउने उनले बताए। ब्यापारमा गिरावटको नतिजाका बावजुद म्याकडोनल्डको सेयर सोमबार बिहान ४.५ प्रतिशतले वृद्धि भएको थियो ।


क्लिकमान्डु