बाबुराम भट्टराईको चुनावी घोषणापत्र : केरुङसम्म केबलकार



काठमाडौं । वाम गठबन्धनले आफ्नो घोषणापत्रमा प्रशान्त महासागरमा नेपाली झण्डा सहितको पानी जहाज चलाउने घोषणा गरिरहेको बेला सो गठबन्धन त्यागेर लोकतान्त्रिक गठबन्धनमा सहभागी भएका डा बाबुराम भट्टराईले भने देशभर केवलकार बनाउने योजना अगाडि सारेका छन् ।

भट्टराईले उत्तरी छिमेकी मुलुक जोड्नका लागि नुवाकोटबाटै तिब्बतको केरुङसम्म केवलकार बनाउने आफ्नो चुनावी घोषणापत्रमा समावेश गरेका छन् । यस्तै उनले रोल्पाको थवाङदेखि डोल्पासम्म पनि केवलकार नै बनाउने योजना अघि सारेका छन् ।

त्यसैगरी, उनले दिपायलदेखि खप्तडहुँदै रारा, सुर्खेत जुम्ला, पोखरा जोमसोम, उदयपुर ओखलढुंगा, धनकुटा खाँदबारीसम्म पनि केवलकार बनाउने विषयलाई समावेश गरिएको छ ।

नयाँ शक्तिका नेता खिमलाल देवकोटाले विकास निर्माणको काममा केही नयाँ गरौ भन्ने योजनाका साथ घोषणापत्रमा त्यस्ता विषय समावेश भएको बताए ।

नयाँ शक्तिले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेर आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।


पुष्प दुलाल