वायुसेवा सञ्चालकले गरे महानिर्देशक प्रदीप अधिकारीको बचाऊ, ‘दुर्घटना कसैले चाहेर हुँदैन’



काठमाडौं । देशमा वायुसेवा प्रदायकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको बचाउ गरेको छ । देशमा हवाइ दुर्घटनामा नियमनकारी निकायको पनि कमजोरी रहेको टिप्पणीसहित महानिर्देशक अधिकारीको आलोचना भइरहेकामा वायुसेवा सञ्चालकहरु भने उनको पक्षमा उभिएका हुन् ।

संघका अध्यक्ष मनोज कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिका प्रति गरेको टिकाटिप्पणीका सम्बन्धमा संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘ घटना/दुर्घटना काबु वाहिरको परिस्थितिमा हुने र यस्ता विषयहरु व्यक्ति विशेष, कम्पनी लगायत नियमनकारी निकाय कसैले चाहेर पनि हुने होइन ।’ दुर्घटना कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई वायुसेवा कम्पनीहरुको हवाई सुरक्षालाई पनि लक्षित गरिको प्रति पनि उनीहरुको गुनासो छ ।

केही समयअघिसम्म वायुसेवा सञ्चालक र महानिर्देशक बीच चरम तिक्तता थियो । संघको नेतृत्वमा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा रहँदा वायुसेवा सञ्चालक र अधिकारीबीच दुरी बढेको थियो । थापा संघको निवर्तमान अध्यक्ष हुन् ।

संघले जारी गरेको विज्ञप्तिमा संघका सदस्यसहित प्राधिकरण पनि हवाइ सुरक्षामा संवेदनशील रहेको बताइएको छ । प्राधिकरणको बचाउ गर्दै भनिएको छ, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले निर्दिष्ट गरेको प्रावधान अनुरुप वायुसेवा संचालक संघ, नेपाल, संघका सदस्य वायुसेवा कम्पनीहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सदैव उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा अत्यन्त संवेदनशिल रहेको छ ।’

यसैगरी प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझावहरु अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीले अक्षरस पालना गर्नुका साथै नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशन पूर्ण रुपमा पालना भए नभएको बारे सम्बन्धित निकायले समय समयमा अनुगमन गर्ने गरेको संघको दाबी छ । बचाउको क्रमलाई हदैसम्म बनाउने झल्कोसहित संघले भनेको छ, ‘संघ तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई सुरक्षामा सदैव प्रतिबद्ध रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छौं ।’

यता प्राधिकरणका महानिर्देशक अधिकारीलाई निकै आलोचना भइरहेको छ । संसदीय समितिमा उनको कार्यकालमा ७ वटा हवाइ दुर्घटनाको भएको र यसको नैतिक दायित्व अधिकारीले लिनुपर्ने कुरा उठेको थियो । प्रतिनिधिसभाको वैठकमा समेत नेपाली कांग्रेसका सांसद उदय शमशेर जवराले अधिकारीको राजीनामा मागेका थिए ।

जबराले प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवार निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर गरेका हुन् ।

‘अहिलेका डिजीले राजीनामा दिनुपर्दैन ? अथवा डिजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन ?,’ उनले भनेका छन्, ‘हामीले विभिन्न घटनाहरुमा सबैले संसदमा बोल्छौं । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् । त्यो पछि हामी बिर्सिन्छौं । एयर सेफ्टीलाई प्राधिकरणले प्राथमिकता दिन सकेको छैन ।’

त्यसअघि गत बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरुले प्रश्न उठाएका थिए ।

सांसदहरुले प्राधिकरणका महानिर्देशकमा अधिकारी आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै उनलाई ¥याख¥याख पारेका थिए । सांसदहरुले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै अधिकारीको चर्को आलोचना गरेका थिए ।

सांसदहरुले युरोपियन युनियन (ईयु)को कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको पनि बताए ।

गत बुधबारका सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि काठमाडौंबाट पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटना भई विमानमा सवार क्याप्टेन बाहेक अन्य सम्पूर्ण यात्रुहरुको निधन भएको थियो । संघले मृतकप्रति समवेदना गर्दै दुर्घटनामा घाइत भई उपचारत क्याप्टेन मनिष रत्न शाक्यको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

हवाई सुरक्षा लागतसँग तुलना नहुने र सुरक्षाका लागि जस्तोसुकै मूल्य व्योहोर्न पनि संघ, सदस्य वायुसेवा कम्पनीहरु तथा नेपाल नागरिक उड्डयन प्राधिकरण हरपल तयार रहेको व्यहोरा विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु