अघिल्लो वर्षभन्दा धेरै धान रोपाइँ, मध्य साउनसम्म देशभर ९२.४ प्रतिशत सम्पन्‍न



साउन १३ सम्ममा देशभर ९२.४ प्रतिशत धान रोपाइँ सम्पन्न भयो ।

काठमाडौं । यस वर्षको करिब दुई महिनाको अवधिमा देशभर ९२.४ प्रतिशतको हाराहारीमा बर्खे धानवालीको रोपाइँ सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिप्रसाद केसीका अनुसार साउन १३ गतेसम्म उक्त मात्रामा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्षको साउन १२ गतेसम्ममा ७८.१ प्रतिशतको हाराहारी मत्रै रोपाइँ भएको थियो ।

यो वर्षको साउनको दोश्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफल १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २ सय २१ हेक्टरमा धानवालीको रोपाइँ भएको छ ।

केसीका अनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशतका दरले १ लाख ७३ हजार ७ सय ९९ हेक्टरमा रोपाइँ भएको छ ।

यसपछि कर्णाली प्रदेशमा ९६.६ प्रतिशतका दरले ४० हजार ६ सय २३ हेक्टर, मधेश प्रदेशमा ९२ प्रतिशतका दरले ३ लाख ५२ हजार ४ सय ४३ हेक्टर, गण्डकी प्रदेशमा ९१.९ प्रतिशतका दरले ८८ हजार २ सय ५२ हेक्टर, लुम्विनी प्रदेशमा ९१.३ प्रतिशतका दरले २ लाख ८४ हजार ४ सय ८५ हेक्टर, बागमती प्रदेशमा ९०.८ प्रतिशतले १ लाख १ हजार ९ सय ९४ हेक्टर र कोशी प्रदेशमा ९०.७ प्रतिशतका दरले २ लाख ५० हजार ६ सय २४ हेक्टरमा यो वर्ष धानवालीको रोपाइँ सम्पन्न भएको छ ।


क्लिकमान्डु